काठमाडौं- सत्तारूढ नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताकार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन अपिल गरेका छन्।
उनले पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन पनि आह्वान गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै नेपालले भनेका छन्, 'सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम हुनु हुँदैन।'
उनले विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएकाले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन्।
नेता नेपालले पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आआफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, 'व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई सिंगो पार्टी एकताको मर्म, भावना, उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो।'
उनले कोराना महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेका बेला नेपाल सरकार तथा सरकारको नेतृत्व गरिहेको पार्टीको हैसियतले सिंगो राष्ट्र, पार्टीसहित अन्य पार्टीका नेता कार्यकर्ता र जनताको ध्यान महामारी संक्रमणका विरुद्ध लड्न केन्द्रित हुनुपर्ने बताएका छन्।