काठमाडौं– उदयपुरका ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयपुरका आठ जनाकाे थ्रोट स्बाबकाे पुन: परीक्षण (पीसीआर टेस्ट) गर्दा एकजनालाई संक्रमण देखिएको हो। संक्रमण देखिएका ती व्यक्तिलाई प्रतिष्ठानकाे आइसाेलेसनमा राखिएकाे छ।
अन्य सात जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले छ। यसअघि मोरङको विराटनगरस्थित कोसी अस्पतालमा स्वाब परीक्षण गर्दा नतिजा पाेजेटिभ देखिएपछि उनीहरूको स्वाब प्रतिष्ठानमा पठाइएको थियो।
यससँगै नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये चार जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
हालसम्म नेपालमा ३६ हजार ७ सय १९ जनाको पीसीआर तथा र्यापिड टेस्टमार्फत कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमा ८ हजार ७ सय ६३ पीसीआर तथा २७ हजार ९ सय ५६ नमुना र्यापिड टेस्ट परीक्षण गरिएको हो।