बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्यले नेपालयले संगीतकार तथा गीतकार आभाससँगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ।
नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्युबमा नेपाली बाल रचना नामको च्यानल पनि केही महिना पहिल्यै संचालनमा आएको हो। गएको तिहारमा नेपालयले सोही च्यानलमार्फत् बालबालिकाका निम्ति उपहार स्वरुप वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो ।
अब सोही च्यानलबाट स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक हुने भएको छ । स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले अक्कलमान नामको चरित्र निर्माण गरेका छन् ।
कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुका साथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्याउने छ ।
वर्णमालामा चर्चित गायिकाहरू मीना निरौला र बेनुका राईले स्वर दिएका छन् । स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ ।
स्वरमालालाई आधार बनाएर बनेको गीति कार्टुन यो लिंकमा गएर हेर्न र सुन्न सकिन्छ ।