कोरोना भाइरस संक्रमणका कारण नेपालका अधिकांश सहकारी समस्यामा पर्न सक्ने संकेत देखिएको सरोकारवाला निकायले बताएका छन् ।
सोमबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजना गरेको भिडियो कन्फ्रेन्समा उनीहरुले नेपालका अधिकांश सहकारी उत्पादनमा भन्दा बचत तथा ऋणमा केन्द्रित भएको र कोरोनाका कारण देश नै पूर्णरुपमा लकडाउन हुँदा त्यसको प्रत्यक्ष असर सरकारीमा पर्ने बताएका हुन् ।
सकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले अधिकांश सहकारी समस्यामा पर्न सक्ने बताए । उनले भने, ‘सहकारीहरुले सदस्यहरुको रकम उत्पादनमा नभएर बैंकमा निक्षेप राखेका छन्, बैंकहरु नै तरलताको अभावबाट गुज्रन सक्ने आँकलन भइरहेको छ। यदि बैंकमा नै समस्या पर्यो भने सहकारीहरु स्वतः समस्यामा पर्छन्।’
उनले थपे, ‘सहकारी सदस्यहरुले लकडाउनका कारण कतिपयले आफ्नो तलब पाएका हुँदैनन् भने कतिपयले दैनिक काम गर्न नपाउँदा पैसा कमाएका हुँदैनन् । उनीहरु आफ्नो भएको बचत झिक्न आउँछन् । धेरै मानिसहरु एकैपटक बचत झिक्न आएमा सहकारी समस्यामा पर्न सक्छन्। त्यसैले अहिलेदेखि नै त्यो अवस्थाको सामना गर्न हामीले तयारी थाल्नुपर्छ ।’
उनले अब सहकारीले सहुलियतपूर्ण कर्जाको साथै युवा स्वरोजगार कोषको पैसा चलाउन पाउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा लगिएको जानकारी दिँदै यदि ती रकमहरु सहकारीमार्फत् पनि परिचालन नगर्ने हो भने सहकारीमा तरलताको चरम अभाव हुने स्पष्ट पारे ।
उनले सहकारीहरु आगामी दिनमा प्रविधिमैत्री हुन आवश्यक रहेको स्पष्टसँग देखिएको पनि जानकारी दिए ।
छलफलमा सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले कोरोनाका कारण कृषि क्षेत्रमा ठूलो असर परेको बताउँदै कोल्ड स्टोरको अभावमा कृषि सहकारीका सदस्यले उत्पादन गरेको तरकारी खेर गएको जानकारी दिए ।
अध्यक्ष कंँडेलका अनुसार मौरीबाट ५ करोड क्षती भएको, सहकारीबाट संकलन भएको ६ लाख लिटर दूधमा ३ लाख खेर गएको, चीयामा ६ करोड रुपैयाँ क्षति भइसकेको छ ।
अध्यक्ष कंडेलले अनुसार कृषकले मल, बीउ नपाउने समस्या रहेको भन्दै यो समस्या तत्काल समाधान हुन आवश्यक रहेको बताए ।
सहकारीले सदस्यलाई सेवा दिन खोजे पनि पास अभावको कारण समस्या भएको भन्दै केही सहकारीहरुले सेवा केन्द्रमार्फत सेवा दिइरहेको बताए ।
सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्री गुरागाईले लकडाउन खुलेपछि सदस्यहरु आएर धमाधम बचत निकाल्न थालेको खण्डमा कस्तो अवस्था आउने हो त्यसमा सबै अहिले नै सचेत हुनुपर्ने बेला आएको बताए ।
उनले अबका दिनका सहकारी संस्थाहरु पूर्ण रुपमा प्रविधिमैत्री बन्नु पर्ने पनि बताए । उनले सहकारी बैंकले राष्ट्र बैंकले भने जसरी नै चैतबाट ब्याजमा छुट दिन थालेको पनि जानकारी गराए ।