संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पूर्ण देश एकढिक्का भएर केरोना भाइरसविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण भएको टिप्पणी गरेका छन्।
राजनीतिक दलसम्बन्धी कानुन र संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश जारी भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।
'जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो। देश थप संकटमा फस्दैछ । लोकतन्त्रका हत्यारादेखि सावधान !' उनले ट्विटरमा भनेका छन्।
आजमात्रै सरकारले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको थियो। भण्डारीले आजै उक्त अध्यादेश जारी गरेकी छन्।
सरकारबाट सिफारिस भएको संवैधानिक परिषद् सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश पनि भण्डारीले जारी गरेकी छन्।
राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भए पनि बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।