सरकारले आज (सोमबार) ल्याएका दुईवटा अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सरकारले दलसम्बन्धी व्यवस्था र संवैधानिक परिषद्का विषयमा दुईवटा विधेयक ल्याएको हो। ती विधेयकबारे धारणा बनाउन कांग्रेसले भोलि (मंगलबार) बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको नेता कृष्णप्रसाद सिटौलाले जनाए।
सिटौलाले भने, ‘यी अध्यादेशको विषयमा आधिकारिक धारणा हामी भोलि बनाउनेछौं। भोलि बिहान पदाधिकारी बैठक बोलाइएको छ।’
आजमात्रै सरकारले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको थियो। भण्डारीले आजै उक्त अध्यादेश जारी गरेकी छन्।
सरकारबाट सिफारिस भएको संवैधानिक परिषद् सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश पनि भण्डारीले जारी गरेकी छन्।
राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भए पनि बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।