समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई लक्षित गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो भने त्यो पूरा नहुने बताएका छन्।
अध्यादेश तपाईंहरुको पार्टीलाई लक्षित गरेर ल्याइएको हो कि ? भन्ने जिज्ञासामा यादवले नेपाल समयसँग भने, ‘यिनीहरुले अध्यादेश ल्याएको हो भने केही न केही सोचेरै ल्याएका होलान्। मेरो पार्टीलाई लक्षित गरी ल्याएको हो भने त्यो सफल हुँदैन। राजनीतिक अस्थिरताका लागि यो ल्याइएको हो।’
देशलाई कम्युनिष्ट तानाशाहीतर्फ लग्न खोजिएको आरोप लगाउँदै यादवले थपे, ‘लोकतन्त्र र राजनीतिक आधार समाप्त पार्ने खेल भइरहेको छ। यो देशको अहितमा छ। यसको कुनै आवश्यकता थिएन।’
मुलुक कोरोना भाइरससँग जुधिरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेशले दूरगामी असर पार्ने उनले सुनाए।
‘संवैधानिक परिषदलाई चलाएर तानाशाही ल्याउन खोजिएको छ। यसले लोकतन्त्र नै समाप्त गर्छ,’ उनले भने, ‘दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो गरेर राजनीतिक दलहरुको बीचमा अस्थिरता पैदा गर्न खोजिएको छ।’