जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतकोे दबाबमा वीरगन्ज पठाइएको पीसीआर मेसिनबाट अझै परीक्षण सुरु हुन सकेको छैन।
पीसीआर सञ्चालन गर्न अन्य उपकरणहरू नपुगेपछि वीरगन्जमा स्वाब परीक्षण हुन नसकेको हो।
नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जका प्रमुख मदनकुमार उपाध्यायले आवश्यक अन्य उपकरण नहुँदा पीसीआर जडान हुन नसकेको बताए। पीसीआर आउँदैमा ल्याब सञ्चालन गर्न नसकिने बताउँदै उनले मेसिन जडान गर्न आवश्यक उपकरण जरुरी रहेको बताए।
“पीसीआर मेसिन बुधबार यहाँ आइपुगेको छ,” उनले भने, “मेसिन सञ्चालन गर्न थुपै्र उपकरण आएका छैनन्। हामी चाँडै सञ्चालन गर्ने तयारीमा जुटेका छौं।”
पीसीआर सञ्चालनमा ल्याउन थप १२ उपकरण आवश्यक रहेको उनले बताए। “मेसिन सञ्चालन गर्न हामीलाई चाहिने १२ वटा उपकरण आइपुगेको छैन, कतिपय नेपालमा उपलब्धसमेत छैन,” उनले भने, “सामान आपूर्ति गर्न केन्द्रले सूचना निकालिसकेको छ, हामी पनि सूचना निकाल्ने प्रक्रियामा छौं, उपकरण आएलगत्तै मेसिन जडान भएर सञ्चालनमा आउने छ।”
मेसिन सञ्चालन गर्न १२ वटा उपकरणबाहेक दैनिकरूपमा प्रयोग गर्नुपर्ने ‘कन्ज्युमर’समेत नरहेको उनले बताए । “वीरगन्जमा सुरु हुन्छ कि हुँदैनभन्दा सुरु पक्कै हुन्छ, हाम्रो दायित्व सिर्जना भइसकेको छ। तर, सामान नभएकाले कठिनाइ भएको हो,” उनले भने।
बायो सेफ्टी क्याबिनेट, सेन्ट्रिफ्युजलगायतका मुख्य उपकरणबिना पीसीआरबाट परीक्षण गर्न नसकिने उनको भनाइ छ। पूर्वाधार निर्माणको काम सुरु भइसकेको बताउँदै उनले आवश्यक उकरण आएलगत्तै परीक्षण सुरु हुने बताए।
वीरगन्ज पठाइएको पीसीआर जनकपुरभन्दा झन्डै दश गुणा बढी क्षमताको रहेको मेसिन जडान गर्न पुगेका एक प्राविधिकले जानकारी दिए। जनकपुरमा जडान भएको पीसीआर ‘पार्टेबल’ रहेको र केन्द्रीय प्रयोगशालाले प्रयोग गरेको पीसीआर वीरगन्ज पठाएको उनले बताए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रादेशिक अस्पतालले जनकपुरको लागि पीसीआर मेसिन पठाउने निर्णय गरेको थियो। बढी क्षमताको मेसिन मुख्यमन्त्री लालबाबु राउतको दबाबमा वीरगन्ज पठाइएको भन्दै उनको आलोचनासमेत भएको थियो।
दलहरूसँगको बैठकमा समेत संघीय सरकारबाट आउने पीसीआर मेसिन प्रादेशिक अस्पताल जनकपुरमा जडान गर्ने सहमति भएको नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले बताए। जनकपुरको लागि पठाइएको पीसीआर अन्यत्र कसरी पुग्यो भन्नेबारे मुख्यमन्त्रीले जबाफ दिनुपर्ने यादवको भनाइ छ।