काठमाडौं- गुल्मीको चन्द्रकोट गाउँपालिकाको एक घरमा आगलागी हुँदा १६ वर्षीय किशोरको ज्यान गएको छ।
गाउँपालिका–४ शान्तिपुर बसपार्कमा रहेको पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्यान गएको हो।
वडा अध्यक्ष भरतलाल थापाका अनुसार खनाल र उनकी पत्नी रुपा आगलागीमा परेर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको थापाले जानकारी दिए।
तीनै जना घरमै बसिरहेको बेला एक्कासी आगलागी हुँदा आमाबुबा बाहिर निस्किन सफल भए पनि छोरा निस्किन नसक्दा जलेर ज्यान गएको थापाले जानकारी दिए।
खनाल बाग्लुङको बरेङ्ग गाउँपालिका–३ का वडाअध्यक्षसमेत रहेको खुलेको छ।
खनाल परिवार आफ्नै घरमा पसल गर्दै आएका थिए। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।
आगलागी केहिबेर पहिले मात्र नियन्त्रणमा आएको थापाले जानकारी दिए। साढे २ ते उक्त घरमा आगलागीबाट क्षतिको विवरणसमेत आइसकेको छैन।