बिहीबार, भदौ ४, २०८३

पशुपतिमा किरियापुत्री सेवा बन्द, घट्न थाले शव

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन्।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं - पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन्।

धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे। विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा बन्द भएको जानकारी पाएको उनले बताए।

गौतम मात्र होइन एक सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दुःख पाएको गुनासो गर्ने गरेका छन्। गौतमका आफन्त बिहानभर किरियापुत्री सेवा दिने स्थल खोज्दै मध्यबानेश्वर पुगे। गौतमका दुवै दाजुभाइ राजधानीमा कोठामा बस्ने भएकाले काजकिरिया गर्ने स्थलको समस्या भयो। राजधानीमा घर हुनेले पनि आफूलाई चाहिनेबाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन। यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ। पशुपतिको अत्यावश्यक एवं अतिसंवेदनशील यो सेवा बन्द हुँदा धेरैले गुनासो गर्ने गरेका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल किरियापुत्री बसेका मानिसलाई भेट्न धेरै आफन्त आएर समस्या भयो भनी सँगै बसेका अरु किरियापुत्रीले गुनासो गर्न थालेपछि सेवा बन्द गर्न बाध्य हुनुपरेको बताए।

‘किरियापुत्रीलाई भेट्न आउनेलाई नआऊ भन्न सकिएन, संवेदनशील ठाउँ भएकाले कसैलाई आऊ, कसैलाई नआऊ भन्नुभन्दा बाध्य भएर केही दिनलाई कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी सेवा बन्द गरेका हौं, यसबाट आम मानिसमा पर्न गएको असुविधाप्रति कोष क्षमा माग्छ’, उनले भने।

पशुपतिको राजराजेश्वरीमा किरियापुत्री सेवाका लागि ४२ कोठाको व्यवस्था गरिएको छ। २२ कोठा एट्याच बाथरुमसहितका छन्। जसमा दैनिक रु ५०० शुल्क लिइन्छ। २० वटा कोठामा एट्याच बाथरुमको व्यवस्था छैन। यी कोठामा भने दैनिक रु २०० शुल्क लिइने गरेको पशुपति घाट सेवा प्रमुख कुमार थापा मगरले जानकारी दिए।

‘एउटा किरियापुत्रीले राडी मण्डीलगायत सामग्री प्रयोग गरिसकेपछि धोएर अर्कोलाई दिने व्यवस्था थियो। बन्दाबन्दीका कारण धुने सेवा दिने कम्पनीका कामदार आउन नसक्ने भए। नधोइकन अर्कोलाई दिन नसकिनेलगायत स्वास्थ्यसम्बन्धी असुरक्षाका कारण सेवा बन्द गर्न माथिबाट आदेश आएअनुरुप गरेका हौं’, उनले भने।

पशुपतिमा घट्न थाले शव

बन्दाबन्दी सुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव घट्ने क्रम अझै जारी छ। चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक बढीमा १० देखि १५ शव मात्र आएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

बन्दाबन्दीका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत कम भएकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ। रासस

प्रकाशित: Apr 20, 2020| 13:22 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।