काठमाडौं– काठ तस्करीमा संलग्न रहेको आरोपमा कैलाली र पर्साबाट दुई जना पक्राउ परेका छन्।
कैलालीको मोहन्याल गाउँपालिका–३, फल्लेबिसौनाबाट ४५ वर्षीया धनसरा गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ। उनको साथबाट प्रहरीले दुई नाले भरुवा बन्दुक र ३१ क्युबिक फिट सालको काठ बरामद गरेको जनाएको छ।
घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, सडकपुर बौनियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक र सालको काठ फेला पारेको जनाएको छ।
धनसराको पति चन्द्रराज गिरी फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, पर्सा, वीरगंज महानगरपालिका–१०, सिर्सिया बाईपास रोडस्थित जगदीश एन्ड ब्रदर्स समिलमा अवैधरूपमा लुकाइछिपाई राखेको अन्दाजी १३ क्युबिक फिट सतिसालको काठ १ सय २६ पिससहित संचालक हिरामन शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
शर्मालाई काठसहित थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय, पर्सा पठाइएको प्रहरीले जनाएको छ।