बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन कम्तीमा दुई वर्ष लाग्छ’

‘पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन कम्तीमा दुई वर्ष लाग्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आगामी बजेटमा ठूलो मात्रामा सरकारी खर्च कटौती हुने बताएका छन् ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आगामी बजेटमा ठूलो मात्रामा सरकारी खर्च कटौती हुने बताएका छन् ।

सोमबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भिडियो कन्फरेन्स बहसमा उनले सरकार कोभिड १९ सँग जुधिरहेकोले पुँजीगत खर्चमा रकम धेरै मात्रामा बढाउनुपर्ने आवश्यकता देखिएको र सीमित स्रोतसाधन भएका कारण सरकारले चालू खर्च नै कटौती गर्न लागेको बताए ।

उनले हाल कोभिड १९ का कारण पर्यटन क्षेत्रमा भएको १५ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढीको लगानी जोखिममा परेको भन्दै पर्यटन क्षेत्रमा राहत कसरी दिने भन्ने विषयमा मन्त्रालयले अध्ययन गरिरहेको बताए ।

मन्त्रालयले बनाएको समितिको संयोजक मन्त्रालयका सहसचिव घनश्याम भुषाल छन् भने सदस्यहरुमा नेपाल पर्यटन बोर्डका सिइओ डा.धनन्जय रेग्मी र नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेल रहेका छन् । सो समितिले मन्त्रालयलाई पर्यटन क्षेत्रमा भएको क्षति र उनीहरुलाई दिइने राहत तथा आगामी मार्गदर्शन सहितको अध्ययन प्रतिवेदन बुझाउनेछ ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा काम गरिरहेका तर हाल बेरोजगार भएका कामदारको हकमा वैकिल्पक कामको व्यवस्था जस्तै– हिमाल सफा गर्ने, बटुवा हिँड्ने बाटो बनाउने र ट्रेकिङ रुटहरु पत्ता लगाउने आदि काम लगाउने र त्यसको उचित पारिश्रमिक पनि दिइने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीले कोभिड १९ का कारण १८० देशका अन्तर्राष्ट्रिय उडानहरु बन्द भएको जानकारी दिँदै यसले नेपालका १३ लाख जनशक्तिलाई असर पारेको स्पष्ट पारे ।

उनले भने, ‘नेपालमा प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रबाट रोजगारी पाइरहेका ५ लाख, सिजनल ३ लाख र सप्लाइ चेनमार्फत ५ लाखभन्दा बढी जनशक्तिले रोजगारी पाइरहेका थिए । उनीहरुको रोजगारी गुमेको छ। उनीहरुको व्यवस्थापन गर्न सरकारले वैकल्पिक उपाय सोच्न जरुरी छ ।’

जोशीले पर्यटन क्षेत्रमा कोभिड १९ का कारण एक खर्ब ६० करोड रुपैयाँ बराबरको क्षति हुने अनुमान वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डव्लुटिटिसी) ले गरेको जानकारी दिए ।

कोरोनापछि पनि नेपालको पर्यटन क्षेत्र पुरानो अवस्थामा आउन कम्तीमा दुई वर्ष लाग्ने भएकोले कोरोनापछि क्षेत्रीय पर्यटकलाई आकर्षित गर्नेगरी प्याकेज ल्याउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा होटल संघ नेपाल (हान) का द्धितीय उपाध्यक्ष प्रविण पाण्डेले लकडाउनभरी कर्मचारीहरुलाई ५० प्रतिशत पारिश्रमिक िदने एफएनसिसिआइको निर्णयलाई नै अगाडि बढाएको बताए ।

उनले हानको तर्फबाट क्षतिको सम्पूर्ण विवरण नेपाल पर्यटन बोर्डलाई बुझाइ सकिएको र मन्त्रालयले सो विवरणको विश्लेषण गरी उचित राहतको व्यवस्थागर्नेमा विश्वस्त रहेको समेत बताए । सन् २०२१ मा ५० प्रतिशत पर्यटन क्षेत्रमात्र ‘रिकभर’ हुने उनको अनुमान छ।

प्रकाशित: Apr 20, 2020| 12:57 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्