सुर्खेत- काठमाडौंलगायत नेपालका विभिन्न ठाउँबाट आफ्नो घर फर्किन सुर्खेत आइपुगेका २०५ जनालाई कर्णाली प्रदेश सरकारले क्वारेन्टाइनमा राखेको छ।
हिँडेर आएका २०५ जनालाई सुर्खेतस्थित खुल्लामञ्चको क्वारेन्टाइनमा राखिएको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बताए।
क्वारेन्टाइनमा राखिएका केहीलाई भने गाउँमै पठाउने तयारी गरिएको छ। सबैलाई सुर्खेतमा राखेर व्यवस्थापन गर्न कठिन हुने भएकाले स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्ने ग्यारेन्टी गरेर गाउँ पठाउने मन्त्री रावलको भनाइ छ।
यद्यपि मुगु, डोल्पा र हुम्लाका नागरिकलाई भने खुल्लामञ्चकै क्वारेन्टाइनमा १४ दिनसम्म राखिनेछ। जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुपश्चिम, सुर्खेत र सल्यानका नागरिकलाई भने स्थानीय तहसँग समन्वय गरेर केही दिनमै गाउँ पठाउने प्रदेश सरकारले जनाएको छ।