काठमाडौं- नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्यमीले लकडाउन अवधिभर कर्जाको ब्याज तथा हर्जाना मिनाहा गर्न अर्थमन्त्री डा. युवराज खतिवडासँग माग गरेको छ।
महासंघ टोलीले आइतबार मन्त्री खतिवडासँग भेट गरी उद्यमीले लिएको कर्जाको किस्ता तथा ब्याज लकडाउन खुलेको एक वर्षभित्र तिर्न सकिने व्यवस्था गर्न माग गरेको हो।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले लकडाउनपछि खुल्ने उद्योगलाई चालु पुँजी आवश्यक पर्ने भएकाले कर्जा लिएका उद्यमीलाई सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्था गर्न गर्न माग गरे।
उनले विगतमा कर्जा नलिएका उद्यमीलाई बढीमा दुई प्रतिशत ब्याजमा सहुलियत दरमा चुक्ता पुँजीको कम्तीमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताए।
व्यवसायीले कोरोनाका कारण अर्थतन्त्रमा पुगेको असरबाट पाठ सिक्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिएका छन्।
आयातित वस्तु भन्दा स्वदेशकै उत्पादन प्रयोगलाई प्रोत्साहन गर्न र सरकारी तथा सार्वजनिक संस्थामा स्वदेशी वस्तुको उपयोगलाई अनिवार्य गर्न पनि महासंघले माग गरेको छ।
सामाजिक सुरक्षा कोषमा उद्यमीले दाखिला गर्नुपर्ने दायित्वलाई राज्यले उठान गर्न नहुने तथा उद्योग नवीकरण गर्ने म्याद कम्तीमा ६ महिना थप गरिदिनुपर्ने माग महासंघको छ।
यस्तै लकडाउन अवधिको उद्योग बहाल कर छुटका साथै घरभाडाबापत उद्यमीले तिर्ने भाडाको सोधभर्ना दिलाउन पनि महासंघले माग गरेको छ।
उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थलगायत सामानमा कर छुटको व्यवस्थाका साथै कम्तीमा दुई वर्षका लागि आयकर मिनाहा हुनुपर्ने माग महासंघले गरेको छ।
महिला उद्यमीका लागि छुट्याइएको महिला उद्यमशीलता सहुलियत कर्जा विना झन्झट उपलब्ध गराई कम्तीमा छ महिनाका लागि ब्याज मिनाहा गर्न पनि महासंघले सरकारसँग माग गरेको छ। यस्तै स्थिति सामान्य नभएसम्मको अवधिको विद्युतको डिमान्ड शुल्क मिनाहा गरिनुपर्ने माग महासंघको छ ।
अर्थमन्त्री डा. खतिवडाले राज्यसँग सीमित स्रोतसाधन भएको र राजस्व पनि नउठेको समयमा आफ्नो तर्फबाट सघाउन उद्योगीलाई आग्रह गरेका थिए।