विश्व अहिले कोरोना भाइरस रोग (कोभिड–१९)को चपेटामा छ। कोरोनाका कारण कुनै पनि देशमा क्रिकेट गतिविधि सञ्चालन भएका छैनन्। कोरोनाको जोखिमका कारण कति खेल रद्द भएका छन् भने कति प्रतियोगिता स्थगित गरिएका छन्।
कोरोनाबाट बच्नका लागि विश्वको दुई तिहाइ भाग लकडाउनमा छ। त्यस्तो अवस्थामा विश्वभरका क्रिकेटर पनि लकडाउनका पालना गर्दैै आ–आफ्नै घरमा बसिरहेका छन्।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी)ले म्याच फिक्चरर र भ्रष्टाचारीसँग सावधान रहन खेलाडीलाई सचेत गराएको छ।
आईसीसीका एन्टी–करप्सन डिपार्टमेन्ट चिफ एलेक्स मार्सलले शनिबार यस्तो बताएका हुन्।
एलेक्सले भने, “कोविड–१९ को कारण अन्तर्राष्ट्रिय, घरेलु क्रिकेटसमेत सबै खेल अस्थायी किसिमले रोकिएका छन्। तर, भ्रष्टाचारी अहिले पनि सक्रिय छन्। यस्तो समयमा सबै सदस्य, खेलाडी, एसोसिएसन र एजेन्टलाई सजग रहन आग्रह गर्दछौं। हामी सबैसँग कुराकानी पानि अघि बढाइरहेका छौं।”
बेलायतका प्रहरी प्रमुख पनि रहिसकेका एलेक्सले भने, “लकडाउनका कारण धेरैजसो खेलाडी सामाजिक सञ्जालमा सक्रिय छन्। यस्तो समयमा भ्रष्टाचारीले उनीहरूलाई सम्पर्क गर्छन् र सम्बन्ध राम्रो बनाउँछन्। त्यसपछि खेल सुरु भएपछि उनीहरूले भ्रष्टाचारका 'खेल' सुरु गर्न सक्छन्। हामीले सबै नियालिरहेका छौं। यो सबै संगठनको उजागर गर्नका लागि सम्बन्धित संस्था, एसोसिएसन र खेलाडीसँग सम्पर्कमा छौं।”
द गार्डियनबाट