बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरको डाँडाथोकबासीको सहयोगमा ४७ पैदल यात्री घर पुगे

ललितपुरको डाँडाथोकबासीको सहयोगमा ४७ पैदल यात्री घर पुगे

डेरामा रासनपानी सकिएपछि सिन्धुलीको गोलन्जोरका ४७ जनाको समूह काठमाडौंको कलंकीबाट हिँडेरै भए पनि घर पुग्ने अठोटका साथ पैदल यात्रामा निस्कियो।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं- डेरामा रासनपानी सकिएपछि सिन्धुलीको गोलन्जोरका ४७ जनाको समूह काठमाडौंको कलंकीबाट हिँडेरै भए पनि घर पुग्ने अठोटका साथ पैदल यात्रामा निस्कियो।

अधिकांश महिलाहरु दुधे बच्चासहित थिए। बालबालिका, केही युवा र वृद्धवृद्धासम्मको समूह ललितपुरको महालक्ष्मी नगरपालिकाको डाँडाथोक पुग्यो।

भोकाएका सन्तानलाई कसैले काँधमा, कसैले काखमा र कसैले पिठ्युँमा बोकेर डाँडाथोक पुगेको लस्कर देखेर त्यहाँका स्थानीय आश्चर्यमा परेनन् बरु हरेक दिन सञ्चार माध्यमहरुमा सुन्ने गरेको समाचारको कथा आफ्नो अगाडि देख्दा आफूहरुमाथि जिम्मेवारी आइलागेको अनुभूति गरे।

स्थानीय जयकृष्ण बोगटी, शशिधर पोखरेललगायतका युवाहरु थाकेर आइपुगेको टोलीलाई खाना खुवाएर पठाउने प्रबन्ध गर्न जुटे।

समाजसेवी राजेन्द्र पौडेलले ललितपुरबाट काभ्रेको सीमा क्षेत्रसम्म पुर्याउन ट्रकको व्यवस्था गर्न लागे।

भोक र थकानले आलस्य भएका ती पाहुनाहरुमा आशाको सानो त्यान्द्रो पलाउन नपाउँदै प्रहरी आइपुग्यो।

जेनतेन खाना खान त पाए तर राजेन्द्र पौडेलले व्यवस्था गरिदिएको ट्रक चढेर काभ्रेको सीमानासम्म खुट्टालाई आराम दिने सपना भने टुट्यो।

प्रहरीले उनीहरुलाई त्यहाँबाट कतै जान दिन नमिल्ने र यो ‘माथिको आदेश’ भन्दै झण्डै ३ घण्टा रोकिदियो।

लकडाउनका कारण काठमाडौंमा भोकै परिने चिन्ताले आफ्नै थातथलो फर्किन लागेकालाई खाना खुवाएर केही सहयोग गर्न खोज्दा प्रहरीले रोकिदिएको भन्दै स्थानीयबासीले जनप्रतिनिधिलाई गुहारे।

महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष बासु गौतम आइपुगेर प्रहरीलाई ती पैदलयात्रीलाई सहयोग गर्न अनुरोध गरे। प्रहरीले छोड्नै नसकिने बाध्यता पेश गरिरह्यो।

स्थानीयबासीले पैदलयात्रीलाई घर पठाउने व्यवस्था गरिदिन, प्रहरीलाई सम्झाईबुझाई गर्न अनेक उपाय खोजे।

काठमाडौंमा रहेका नेता, कलाकार, चलचित्रकर्मी, पत्रकार, समाजसेवी सबैलाई सम्झिए। कसैले यो कुरा माथिल्लो निकायमा पुर्याइदियोस् र उनीहरुले त्यहाँबाट घर जान पाउन् भन्ने चाहना स्थानीयको थियो।

चलचित्रकर्मी राशरण पाठकलाई फोन आयो। पाठकले सर्वोच्च अदालतले सरकारका नाममा दिएको आदेश सम्झिए।

बाटोमा अलपत्र परेकालाई घर पुग्ने व्यवस्था मिलाउनु भनेर त अदालतले नै भनिसकेको छ। के सरकारले सर्वोच्चकै आदेशको खिलाप पैदलयात्रीलाई बाटोमै अलपत्र पार्ने काम गर्न लागेको हो त ? उनी झस्किए।

चलचित्रकर्मी राम शरण पाठक र रज्जु प्रधानको अनुरोधमा रोशीदेखि नेपालथोकसम्म रोशी गाउँपालिका प्रमुख तथा चलचित्रकर्मी डीबी लामा (मोक्तान) ले र नेपालथोकदेखि गोलन्जोरसम्म प्रदेश सभासद राजन दाहाल सहयोग गर्न तत्पर भए।

यी दुई जनप्रतिनिधीहरुले स्थानीय समाजसेवीहरुको सहयोगमा विगत ३ हप्तादेखि अलपत्र परेका पैदलयात्रीहरुलाई सेवा गरिरहेका थिए।

शिशुसहितका आमाहरु, बालबालिका तथा वृद्धवृद्धाको अवस्थाका कारण प्रहरी पनि उनीहरुलाई जान दिन तयार भयो।

ललितपुरबाट काभ्रेको सीमानासम्म त्यहीँका स्थानीयवासीहरुले गाडीको व्यवस्था गरिदिने निश्चित भयो। काभ्रेको सीमाबाट रोशीसम्म त्यहाँका स्थानीय समाजसेवीहरुले गाडी र खाजा पानीको व्यवस्था गर्ने भए।

रोशीबाट नेपालथोकसम्म रोशी गाउपालिका प्रमुख लामाले र नेपालथोकदेखि गोलन्जोरसम्म प्रदेश सभासद राजन दहालले पठाउने प्रवन्ध मिलाउन तयार भए। प्रहरीसँग उनीहरुलाई घर जान दिनेबारे एकातिर छलफल चल्दै गर्दा अर्कोतिर प्रहरीले छोड्नासाथ घरैसम्म पुग्नेगरी गाडीको प्रबन्ध मिलिरहेको थियो।

शनिबार राति पौने ९ बजे रोशी गाउपालिका प्रमुखको सहयोगमा नेपालथोकसम्मको लागि गाडी चढेका पैदलयात्रीको उद्दार गर्न आफै लागिपरेका सांसद राजन दहाल सामान्य दुर्घटनामा परे।

उनको हात भाचिएपछि धुलिखेल अस्पतालमा उपचार गराइरहेका छन्। काठमाडौंबाट खाली पेट पैदल यात्रा सुरु गरेका ४७ जनाको समूह विभिन्न ठाउँबाट प्राप्त भएको अनपेक्षित सहयोगले घर पुगेका छन्।

प्रकाशित: Apr 19, 2020| 15:49 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।