लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीमा ८० प्रतिशतले कमी आएको छ। सवारीसाधन नचल्दा पेट्रोल र डिजेलको ८० प्रतिशतले कमी आएको हो।
नेपाल आयल निगम अमलेखगञ्ज डिपोमा पेट्रोल र डिपोको मौज्दात पूरा छ। डिपोको भण्डारण गर्ने डिजेल ट्याङ्कीमा दुई करोड लिटर डिजेल मौज्दात छ।
त्यस्तै पेट्राेल ट्यांकीकाे क्षमता १९ लाख लिटर रहेको र त्यसमा १८ लाख लिटर पेट्रोल रहेको डिपोले जनाएको छ। बन्दका कारण डिजेल तीनदेखि चार लाख लिटर तथा पेट्रोल दैनिक एक लाख लिटर मात्र बिक्री भइरहेको डिपोका प्रमुख भरत रेग्मीले बताए। रक्सोलबाट पाइपलाइनमार्फत आउने पनि रोकिएको छ।
ट्यांकीकाे क्षमता जति छ, त्यति डिजेल मोज्दात रहेकाले पाइपलाइनबाट डिजेल ल्याउने काम बन्द गरिएको छ। राजमार्गको पम्पमा डिजेल र पेट्रोल कमी हुन नदिन त्यस पम्पमा समेत प्राप्त मात्रामा डिजेल र पेट्रोल दिइएको बताइएको छ।
गहुँ काट्ने खेत जोत्ने बिउबिजन लगाउने र सिँचाइ गर्न समय भएकाले ग्रामीण क्षेत्रमा डिजेलको बिक्री बढेको प्रमुख रेग्मीले बताए।
अमलेखगञ्ज डिपोबाट विराटनगर तथा भैरहवा डिपोमा समेत डिजेल पठाइने गरिएको छ।
आयल निगम विराटनगर शाखाको डिपोमा पेट्रोल र डिजेलको मोज्दात पर्याप्त छ। कार्यालय प्रमुख अशोक साहका अनुसार डिपोमा डिजेल ८० लाख लिटर तथा पेट्रोल नौ लाख ६० लिटर छ।
डिपोबाट डिजेल र पेटोल आइतबार र बिहीबार बिक्रीवितरण हुने गरेको छ। पम्पबाट सरकारी गाडी पास भएका मोटरसाइकल ट्र्याक्टर तथा ढुवानीको गाडीले खरिद गर्ने गरेको पम्प व्यवसायीहरु बताउँछन्। भैरहवा डिपोमा पनि पेट्रोलियम पदार्थको मोज्दात पर्याप्त रहेको डिपोले जनाएको छ। -रासस