सुर्खेत– सुर्खेतमा लकडाउन थप प्रभावकारी बनाउन सातामा तीन दिन मात्रै खाद्यान्न पसल खुलाइने भएको छ।
दैनिक उपभोग्य पसलमा दिनहुँ उपभोक्ताको भिड लाग्दा कोरोना संक्रमण फैलिन सक्ने भन्दै सातामा तीन दिनमात्रै बजार खोल्ने निर्णय गरिएको हो।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकले सातामा सोमबार, बुधबार र शुक्रबार मात्रै दैनिक उपभोग्य वस्तुका पसल खोल्ने निर्णय गरेको हो।
त्यस्तै, तरकारी तथा दुग्धजन्य वस्तु ढुवानी गर्ने सवारी साधन पनि बिहान ७ देखि ९ बजेसम्म मात्रै चल्न पाउने निर्णय गरेको छ।
तर, औषधि तथा क्लिनिक प्रत्येक दिन अनिवार्य रूपमा खोल्नुपर्ने निर्णय गरेको छ। बैठकले एम्बुलेन्समा समेत एकभन्दा बढी कुरुवा राख्न नपाउने निर्णय गरेको छ।