राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थापनाको तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। २०७४ वैशाख ७ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर राजपा गठन भएको थियो।
राजपा गठन भएको तीन वर्ष पूरा भए पनि अहिलेसम्म पार्टीको महाधिवेशन हुन सकेको छैन। केन्द्रमा ६ सदस्यीय अध्यक्षमण्डलले नेतृत्व गरिरहेको छ भने जिल्लामा पनि ६ सदस्यीय अध्यक्ष मण्डल रहेको छ।
अहिलेसम्म पार्टीको सम्पूर्ण अधिकार केन्द्रीय अध्यक्ष मण्डलमा निहीत छ। यसको विरोध गर्दै आएका छन् तल्लो तहका विभिन्न कार्यसमितिले।
पार्टीले अहिलेसम्म एकीकृत अभियान चलाउन नसकेकोले लथालिङ्ग अवस्थामा रहेको नेताहरुको दाबी छ।
केन्द्रीय अध्यक्ष मण्डलमा अहिले महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा रहेका छन्। प्रत्येक दुई–दुई महिनामा अध्यक्ष मण्डलको संयोजक फेरिँदै आएको छ।
कहिले होला महाधिवेशन ?
पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा भएको थियो। तर, तीन वर्ष पूरा हुँदा पनि हुन सकेको छैन। पार्टीको विधान संशोधन गरी महाधिवेशन सारिएको छ। पटक–पटक गरी करिब आधा दर्जन पटक राजपा महाधिवेशनको मिति सरेको छ।
महाधिवेशन केन्द्रित गरी करिब ३५ वटा जिल्लाहरुको अधिवेशन सम्पन्न भएको छ। जसमा ५ वटा जिल्लामा विवाद छ।
राजपाभित्र पुराना ६ वटै पार्टीको अवशेष बाँकी रहेकोले पार्टी एकीकृत ढंगले अगाडि बढ्न नसकेको नेताहरुको बुझाइ छ, जसको असर पार्टीको महाधिवेशनमा परेको छ।
अध्यक्ष मण्डलले नै महाधिवेशन गराउन नचाहेको भन्दै नेताहरुले बेला–बेलामा आक्रोश पोख्दै आएका छन्। पार्टीको राजनीतिक समितिले त अध्यक्ष मण्डल विघटनको प्रस्ताव नै अगाडि बढाएको थियो।
राजपा महासचिव केशव झाका अनुसार लकडाउन खुलेपछि महाधिवेशनको विषयमा छलफल हुनेछ। यसअघि पनि महाधिवेशनका लागि पार्टीले तयारी गरेको उनले सुनाए।
समाजवादीसँगको एकीकरण
बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरणको चर्चा लामो समयदेखि चल्दै आएको छ।
राजपाकै नेताहरु समाजवादी पार्टीसँग एकीकरणका लागि अग्रसर देखिएका थिए। तर, हालसम्म एकीकरण प्रक्रिया अगाडि बढ्न सकेको छैन।
डा.बाबुराम भट्टराई समाजवादी पार्टीमा मिसिँदा पनि राजपासँगै एकीकरण गर्ने तयारी गरेका थिए। तर, समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादव सरकारमा रहेकोले एकीकरण गर्न कठिन भएको थियो।
राजपा र समाजवादीबीच एकीकरणका लागि वार्ता समिति पनि गठन भएर बारम्बार छलफल भएको थियो। एकीकरणका लागि मोडालिटी पनि तय भइसकेको छ। तर, राजपाका कनिष्ट दुई अध्यक्ष र समाजवादीका केही नेताहरुको व्यवस्थापन नमिल्दा एकीकरण रोकिएको नेताहरुको भनाइ रहेको छ।
उपेन्द्र यादव सरकारमा रहेको बेला एकीकरणका लागि ढिलासुस्ती गरेको देखिएको थियो। यादव सरकारबाट हटेपछि एकीकरणका लागि तम्सिएका थिए। तर, त्यसपछि राजपाका नेताहरुले अटेर गर्न थाले। उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि एकीकरणका विषयमा औपचारिक वार्ता हुन सकेको छैन।
अध्यक्ष मण्डलको सिको अरु पार्टीमा पनि
राजपा एकीकरण भएको ३ वर्ष हुँदासमेत महाधिवेशन नगरी अध्यक्ष मण्डलको भरमा चल्दैछ। तर, राजपाले गरेको अध्यक्ष मण्डलीय प्रयोग नेपालका अन्य पार्टीहरुले पनि गरेका छन्।
संघीय संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मै दुईजना अध्यक्ष छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि तीन जना अध्यक्ष रहेका छन्। राप्रपा अध्यक्ष मण्डलमा कमल थापा, डा.प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर जबरा छन्।
समाजवादी पार्टीमा पनि डा.बाबुराम भट्टराई र उपेन्द्र यादव दुईजना अध्यक्ष छन्।