काठमाडौं- नागरिक लगानी कोषले आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जा लिएका सेवाग्राहीलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ। कोष सञ्चालक समितिको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्थालाई ध्यान दिँदै छुट दिने निर्णय गरेको हो।
कोषका अनुसार २०७६ चैतदेखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र बुझाएमा ऋणीले सो अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट पाउनेछन्।
त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्तिबापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको कोषले जनाएको छ।