धगगढी– वीरगञ्जबाट कैलालीको लम्की आएकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ।
कैलाली घर भएकी उनी दुई साताअघि वीरगञ्जबाट आएर क्वारेन्टिनमा बसेपछि घर फर्किएकी थिइन्।
र्यापिड टेस्टमा संक्रमण नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएको हो। उनलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा लगिएको लम्कीचुहाका मेयर महादेव बजगाईंले जानकारी दिएका छन्।
यद्यपि, स्वास्थ्य मन्त्रालयले यसको औपचारिक पुष्टी गरेको छैन।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ। पाँचै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार लकडाउनका समयमा ती महिला वीरगन्जबाट १७ जनाको समूहमा कैलाली आइपुगेकी थिइन्। उनीहरु जिल्ला प्रशासन कार्यालय पर्साको पत्रसहित चिसापानीसम्म गाडीमा आएर आ-आफ्नो घर गएका थिए। तर, गाउँलेले बाहिरबाट आएको खबर गरेपछि वडाले सबैलाई क्वारेन्टिनमा लगेर राखेको थियो।
संक्रमित महिलासहित १७ जनाको टोलीलाई र्यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आइतबार साँझ घर पठाइएको थियो। तर, काठमाडौं पठाइएको नमूनाको पीसीआर परीक्षणमा एक जनामा पोजेटिभ पाइएपछि अहिले फेरि सबैलाई क्वारेन्टाइनमै ल्याइएको छ।
क्वारेन्टिनमा रहेकामध्ये कसैमा पनि लक्षण नदेखिएको तर, अरूको पनि पीसीआर परीक्षणको नतिजा पर्खिरहेको मेयर बजगाईंले बताएका छन्।
यसअघि लम्कीचुहाकै २१ वर्षीय युवकमा कोरोना संक्रमण पाइएको थियो।