वर्ष २०७६ मा राष्ट्रिय जीवनमा ख्यातिप्राप्त केही व्यक्तित्वहरुलाई हामीले गुमायौं। व्यवसाय, साहित्य, शिक्षा, पत्रकारिता क्षेत्रमा लामो समय क्रियाशील ती व्यक्तित्वको योगदान आआफ्ना क्षेत्रमा अविस्मरणीय छ।
पुष्करलाल श्रेष्ठ (२०१६–२०७६)
कामना न्युज प्रकाशन प्रालिका अध्यक्ष तथा पत्रकार पुष्करलाल श्रेष्ठको वैशाख ४ गते निधन भयो। व्यापारी परिवारका पुष्करलालले ममता मासिकमा खेलकुदसम्बन्धी रिपोर्टिङ गरेर पत्रकारिता थालेका थिए। उनले २०४१ सालमा ‘कामना’ सिने मासिक पत्रिका निकाले। त्यो निकै लोकप्रिय भयो। २०४८ सालदेखि प्रकाशित ‘साधना’ पारिवारिक मासिकले धेरै पाठकको मन जित्यो। २०४९ सालमा प्रकाशन सुरु भएको सन्ध्याकालीन दैनिक ‘महानगर’ पठनीय थियो। २०५२ सालमा आजको समाचारपत्र प्रकाशन गर्न थालेका श्रेष्ठले यसको नाम परिवर्तन गरेर नेपाल समाचारपत्र बनाए। २०५८ सालमा दरबार हत्याकाण्डको समाचार ब्रेक गरेर नेपाल समाचारपत्र चर्चित भएको थियो।
वसन्तकुमार शर्म्मा नेपाल (१९८४–२०७६)
‘नेपाली शब्दसागर’ शब्दकोशका संकलक एवं साहित्यकार वसन्तकुमार शम्र्माको पनि यसै वर्षको सुरुवाती दिनमा निधन भयो। ९१ वर्षीय शम्र्माको मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पीडित थिए।
नेपाली भाषामा एकल प्रयासमा सबैभन्दा धेरै शब्द संकलन गरिएको उनको ‘नेपाली शब्दसागर’ मा एक लाख २५ हजार शब्द छन्। २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पु¥याइएको छ। शम्र्मा हिन्दी, नेवारी र संस्कृत भाषाका पनि जानकार थिए।
शान्ति मिश्र (१९९५–२०७६)
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकी पूर्वप्रमुख शान्ति मिश्र जेठ १ गते बितिन्। मिश्र त्रिविमा पूरा समय पढाउने पहिलो महिला प्राध्यापक, त्रिवि केन्द्रीय पुस्तकालयको संस्थापक लाइब्रेरियन, अमेरिकाबाट पुस्तकालय विज्ञान (लाइब्रेरी साइन्स) मा एमए गर्ने पहिलो नेपाली महिला तथा विशिष्ट श्रेणीमा रहेर सरकारी सेवा पुर्याउने पहिलो महिला हुन्। केन्द्रीय पुस्तकालयमा भारतका राष्ट्रपति जाकिर हुसैन, जापानी सम्राट अकिहितो आदिललाई उनैले घुमाएकी थिइन्।
शान्ति र उनका पति नारायणप्रसाद मिश्रको संयुक्त लेखनमा ‘पुस्तकालय विज्ञानको रुपरेखा’ २०३८ सालमा प्रकाशित भएको छ। उनले रुद्रराज पाण्डेको ‘रुपमती’ लाई अंग्रेजीमा अनुवाद गरेकी थिइन्। शान्तिको अंग्रेजी उपन्यास ‘ए विडोज गिफ्ट’ तथा नारायणप्रसादसँग लेखेको ‘त्रिवि केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’ पनि प्रकाशित छ। साथै, उनको जीवनकथा ‘भ्वाइस अफ ट्रुथ’ प्रकाशित छ।
मिश्र दम्पतीका नाममा त्रिविमा पत्रकारिता र पुस्तकालय विज्ञानमा क्रमशः नारायण–शान्ति मिश्र स्वर्ण पदक र शान्ति–नारायण मिश्र स्वर्ण पदकका लागि ४ लाख ३३ हजार रुपैयाँको कोष स्थापना गरिएको छ।
प्रभाकरशमशेर राणा (१९९३–२०७६)
उद्यमी प्रभाकरशमशेर जबराको ८४ वर्षको उमेरमा १७ जेठमा अमेरिकामा निधन भयो। सोल्टी ग्रुपका पूर्वअध्यक्ष प्रभाकर सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाललगायत व्यापारिक प्रतिष्ठानका अभिभावक थिए। चिया र जलविद्युत्मा पनि उनको लगानी छ। उनका व्यावसायिक, व्यापारिक संस्था देशमै सबैभन्दा बढी कर तिर्नेको सूचीमा पर्छन्।
सम्पन्न राणा परिवारबाट व्यवसायमा आउने पहिलो पुस्ताका प्रभाकर जीवनकालमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का नेपाल च्याप्टर, होटल एसोसिएसन अफ नेपाल, नेपाल हेरिटेज फाउन्डेसन, नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, अमेरिकन हिमालयन फाउन्डेसनलगायत थुप्रै संस्थाको नेतृत्वमा थिए।
धनीराम पौडेल (२०२२–२०७६)
नेकपमा डीआर दाइका रुपमा चिनिने पूर्वशिक्षामन्त्री धनीराम पौडेलको जेठ ३१ गते बिहान घरमा बसिरहेकै बेला हृदयघातका कारण मृत्यु भयो। उनी सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगका सदस्य थिए। ‘आफ्नै पार्टीको सरकार छ, तर पनि आयोगको रिपोर्ट सार्वजनिक गर्न दबाब दिनुपर्ने अवस्था छ,’ आफूहरुले बनाएको शिक्षा प्रतिवेदन सार्वजनिक हुन नसक्दा उनले मिडियालाई भनेका थिए। सार्वजनिक शिक्षाको सुधार गर्नुपर्ने सधैं उनको जोड रहेको हुन्थ्यो। पुष्पकमल दाहाल २०७३ साउनदेखि २०७४ जेठसम्म दोस्रोपटक प्रधानमन्त्री हुँदा पौडेलले शिक्षामन्त्रीको जिम्मेवारी पाएका थिए। उनी २०७० को दोस्रो संविधानसभामा समानुपातिक तर्फका सभासद् थिए।
मदनमणि दीक्षित (१९७५–२०७६)
वरिष्ठ साहित्यकार मदनमणिको साउन ३० गते ९७ वर्षको उमेरमा निधन भयो। सुरुवाती कालमा वीरगन्जमा प्राध्यापन गरेका मदनमणि दीक्षितको परिचय नै ‘मदनमणि माड्साप’ थियो। ‘माधवी’ उनको सर्वाधिक चर्चित उपन्यास हो। राजनीतिक चिन्तक र कार्यकर्ता, पत्रकार, फोटोग्राफर, दर्शनशास्त्रका ज्ञाता, साहित्यकार मदनमणिका परिचायक हुन्।
वामपन्थी विचारसँग झुकाव राख्ने उनले पञ्चायती कालमा पत्रकारिता गरेका कारण शासक वर्गबाट निकै हण्डर खानुपरेको थियो। उनको ‘समीक्षा’ साप्ताहिक प्रतिपक्षी आवाज उठाउने सशक्त माध्यम थियो।
२०३९ सालमा मदन पुरस्कार प्राप्त उपन्यास ‘माधवी’ बाहेक दीक्षितका ‘त्यो युग’, ‘ऋग्वेदः केही प्रमुख सूत्र’, ‘ऋग्वैदिक नारी चरित्र’, ‘हिन्दू संस्कृतिको परिशीलन’, ‘दौपदी र सीता’, ‘विदुषी गार्गी’, ‘हाम्रा प्राचीन नारी’ लगायत कृति प्रकाशित छन्।
सन्तबहादुर राई (१९९३–२०७६)
जनजाति समुदायबाट निजामती सेवाको विशिष्ट श्रेणीमा पुग्ने व्यक्तिका रुपमा परिचित सन्तबहादुर राईको निधन गत भदौ २३ मा ८४ वर्षको उमेरमा भयो। तीन दशक निजामती सेवामा बिताएका राईलाई धेरैले हक्की प्रशासकका रुपमा चिन्छन्।
संखुवासभामा जन्मिएका राईले २०१८ सालमा जागिर सुरु गर्दा जाजरकोटमा खटिएका थिए। २०२६ सालमा पाँचथरको सीडीओ बनेका उनी स्थानीय विकास विभाग उपमहानिर्देशक हुँदै महानिर्देशक बने। २०३८ सालमा अतिरिक्त सचिव, २०४१ सालमा आपूर्ति, २०४३ सालमा स्थानीय विकास र २०४४ सालमा आवास तथा भौतिक योजना मन्त्रालयका सचिव भए।
४८ सालमा लोकसेवा आयोगको सदस्य भएका राई २०५१ देखि निरन्तर दुई कार्यकाल लोकसेवाका अध्यक्ष भएका थिए।
विनय गुर्वाचार्य (१९९३–२०७६)
पत्रकार विनय गुर्वाचार्य मंसिर ६ गते बिते। उनले अन्तर्राष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी) को काठमाडौं प्रतिनिधिका रूपमा ३८ वर्ष काम गरे भने जापानको दैनिक पत्रिका ‘माइनिची सिम्बुन’ मा पनि नियमित लेख पठाउँथे। वरिष्ठ सञ्चारकर्मी भैरव रिसालले गुर्वाचार्यबारे भेनका छन्, ‘उहाँले ठूलो स्वरले बोलेको वा आक्रामक प्रश्न गरेको मैले कहिल्यै देखिनँ।’
विनयकुमार कसजू (२००४–२०७६)
विनय कसजूलाई धेरैले विनयी चरित्रका धनीका रुपमा स्मरण गर्छन्। उनै विनयशील विनयको निधन मंसिर महिनाको १० गते भयो। स्थानीय विषयलाई प्राथमिकता दिने उनको पत्रकारिताको देन हो। उनको लेखाइ सरल थियो। समाचार आममानिसको भाषामा भन्नुपर्छ भन्ने उनको बुझाइ थियो। उनको सम्पादकत्वमा पाल्पाबाट प्रकाशित ‘देउराली’ सामुदायिक विषयमा आवाज उठाउने अखबार हो। कसजू राष्ट्रिय सूचना आयोगका प्रथम आयुक्त हुन्।
तारानन्द मिश्र (१९९६–२०७६)
नेपालको पहिलो प्रशिक्षित पुरातत्वविद् तारानन्द मिश्रको माघ ६ गते निधन भयो। उनको नेतृत्वको टोलीले प्राचीन कपिलवस्तु क्षेत्र बुद्धको जन्मस्थल भएको प्रमाणित गरेको थियो।
मिश्रले पटनाबाट ‘प्राचीन इतिहास’ विषयमा स्नातकोत्तर तथा पुरातत्त्वमा पोस्ट ग्राजुएट डिप्लोमा गरेका थिए। उनी २०२१ सालदेखि पुरातत्व विभागमा प्रवेश गरे। उनले काठमाडौंको हाँडीगाउँ र धुम्बाराहीलगायत विभिन्न ठाउँको उत्खनन् तथा अध्ययन गरेका थिए। उत्खननका क्रममा प्राप्त लिच्छविकालीन मूर्ति र अभिलेखबाट विशालनगर दसौं शताब्दीसम्म ‘राजधानी’ भएको उनको दाबी थियो।
मिश्रका द लोकेसन अफ कपिलवस्तु एन्ड आर्कियोलोजिकल एस्काभेसन, सर्भे अफ आइकोनोग्राफी अफ काठमाडौं भ्याली, बुद्धिस्ट कलेक्सन अफ नेसनल म्युजियम कृति प्रकाशित छन्।
दुर्गानाथ शर्मा (२००४–२०७६)
शर्माले नेपाल टेलिभिजनमा चलाउने ‘विश्व घटना’ लोकप्रिय थियो। साताभर विश्वमा भएका राजनीतिक घटनाहरुको संक्षिप्त प्रस्तुति तथा नयाँनयाँ वैज्ञानिक आविष्कारको जानकारी हुने सो कार्यक्रम इन्टरनेट तथा विदेशी सञ्चारको पहुँच नहुने आमनेपालीलाई विश्व जान्ने आँखीझ्याल नै थियो। साहित्यिक वातावरणमा इलाममा जन्मेहुर्केका शर्माको लेखन राम्रो मानिन्थ्यो। २०५८ को दरबार हत्याकाण्डपछि नयाँ राजा ज्ञानेन्द्रसँग उनले लिएको अन्तर्वार्ताले पनि उनलाई चर्चित बनाएको थियो।
डीपी भण्डारी (१९९२–२०७६)
चर्चित साहित्यकार डीपी भण्डारीको चैत १ गते शनिबार निधन भयो। उनी श्वासप्रश्वाससम्बन्धी समस्याले पीडित थिए। भण्डारी अंग्रेजी साहित्यका प्राध्यापक तथा ख्यातिप्राप्त निबन्ध लेखक थिए। भण्डारीले त्रिभुवन विश्वविद्यालयमा ३५ वर्ष प्राध्यापन गरेका थिए। उनका ‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ’, ‘रोटी र फूल’ र ‘त्यो धरती, त्यो आकाश’ कृति प्रकाशित छन्। डा. भण्डारी नेपाली र अंग्रेजी भाषाका पत्रपत्रिकामा लामो समय स्तम्भकार पनि रहेका थिए।
साहित्यकार उपेन्द्र पागल
पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको ७७ वर्षको उमेरमा चैत २० गते निधन भयो। उनी एक वर्षदेखि दमरोगबाट पीडित थिए। उनका निबन्ध, कथा, कविता, समालोचनाका कृति प्रकाशित छन्।