बिहीबार, भदौ ४, २०८३

केही चर्चित व्यक्ति जसले २०७६ मा विश्व छोडे

विसं २०७६ ले केही खुसी दिएको छ भने केही दुःख। केहीका लागि खुसीको वर्ष बनेपनि विदा हुँदै गर्दा यसले विश्वलाई नै रुवाएको छ।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

काठमाडौं - विसं २०७६ ले केही खुसी दिएको छ भने केही दुःख। केहीका लागि खुसीको वर्ष बनेपनि विदा हुँदै गर्दा यसले विश्वलाई नै रुवाएको छ। कोरोनाका कारण विश्व नै आतंकित बन्न पुगेको छ। महामारीमा परी एक लाख बढीले ज्यान गुमाइसकेका छन्। महामारीबाट लाखौं पीडित छन्। संक्रमणले विश्वलाई नयाँ चुनौतीको संघारमा ल्याइपुर्याएको छ। कतिपय चर्चित व्यक्तिहरुलाईसमेत कोरोनाले आफ्नो सिकार बनाएको छ।

यस बीच २०७६ ले थुप्रै विश्वचर्चित व्यक्तिहरुलाईसमेत आफैंसँग लिएर गएको छ। २०७६ मा पूर्वराष्ट्रप्रमुखदेखि चर्चित कलाकार, लेखक तथा खेलाडीहरुले ज्यान गुमाएका छन्। ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिँदादिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुती दिइरहेका बेला भएको छ भने कसैको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

विसं २०७६ मा अस्ताएका विश्वका केही चर्चित व्यक्तित्व

हेलिकोप्टर दुर्घटनामा चर्चित खेलाडी कोबेसहित ९ को मृत्यु

अमेरिकी बास्केटबलका पूर्वखेलाडी कोबे ब्रायन्टको माघ १२ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गयो। हेलिकोप्टर अवतरणका क्रममा भएको दुर्घटनामा उनी र उनकी छोरीसहित ९ जनाको ज्यान गएको थियो। ४१ वर्षे अमेरिकी खेलाडी कोबेको निधनपछि विश्वभरबाट विभिन्न माध्यमद्वारा उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो। कतिपयले ‘खेल प्रेरणाका प्रतिमूर्ति’को निधन भएको टिप्पणीसमेत गरे।

कोबे सन् २०१६ मा लेकर्सका ‘लिडिङ पोइन्ट स्कोरर’ थिए। उनी एनबीएमा सर्वाधिक अंक बनाउनेको सूचीमा चौथो स्थानमा छन्। उनले ३३ हजार ६ सय ४३ स्कोर अंक बनाएका छन्।

सन् २०१६ को अप्रिलमा सन्यास लिएका कोबेले एक हजार पाँच सय ६६ खेल खेलेका छन्। सोही महिना खेलेको लेकर्सको अन्तिम खेलमा उनले छैटौं पटक ६० अंक बनाएका थिए। उनले सन् २०१८ मा ओस्कार अवार्ड पनि जितेका छन्। सो अवार्ड उनले पाँच मिनेटको फिल्म ‘डियर बास्केटबल’नामका फिल्मबाट जितेका थिए।

अष्ट्रेलियाली पूर्वप्रधानमन्त्री बवको निधन

लेबर पार्टीका प्रभावशाली नेता तथा सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री बनेका बव हकको पनि यसै वर्ष ८९ वर्षको उमेरमा निधन भयो। आफ्नो ८ वर्षे कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गरेका बवको वैशाख ३ गते निधन भएको हो। बव नेतृत्वको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीरण गर्दै आर्थिक स्वतन्त्रता र रोजगारीमा बृद्धि गराएको थियो।

मलेसियाका सातौं राजाको स्वर्गारोहण

मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको जेठ ८ गते ८८ वर्षको उमेरमा निधन भयो। पाहाङ राज्यका पाँचौं राजा सुल्तान सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष सातौं केन्द्रीय राजा बनेका थिए। सन् १९३० मा जन्मेका उनी सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए।

नाट्य क्षेत्रले गुमायो गिरिश कर्नाड

जीवित भारतीय नाट्यकर्मीमध्ये सम्भवतः सबैभन्दा लोकप्रिय गिरिश कर्नाडको ८१ वर्षको उमेरमा जेठ २७ गते निधन भयो। भारतको सबैभन्दा उच्च साहित्यिक पुरस्कार जनपीठलगायतका सम्मान पाएका कर्नाडले भारतीय समाज र समय प्रतिबिम्बितमा आधारित थुप्रै नाटक लेख्नुका साथै मौलिक छाप पार्ने अभिनय गरेका थिए। हालको कर्नाटक राज्यमा जन्मेका कर्नाडले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा गणित विषयको उच्च शिक्षामा छात्रवृत्तिमा अध्ययन गरेका थिए। अक्सफोर्ड विद्यार्थी युनियनका अध्यक्षसमेत रहेका उनी भारत फर्केर कलाकर्ममा लागेका थिए।

अदालतमा बयानकै क्रममा मोर्सीको मृत्यु

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको असार २ गते निधन भयो। आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि कायरोस्थित अदालतमा बयान दिइरहेका बेला उनको निधन भएको हो। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई सन् २०१२ मा निर्वाचित भएको एक वर्षमै इजिप्टको सेनाले अपदस्त गरी जेल हालेको थियो।

स्टेजमा प्रस्तुतीकै क्रममा अस्ताए हाँस्य कलाकार

‘स्ट्याण्डअप कमेडी’का लागि चर्चित मञ्जूनाथ नायडुको श्रावण ५ गते प्रस्तुति दिने क्रममा दुबईमा स्टेजमै निधन भयो। प्रस्तुति दिँदै गर्दा अचानक ढलेका बेला दर्शकले त्यसलाई प्रस्तुतिकै लागि ढलेको ठानेका थिए। आफ्नो परिवार र डिप्रेसनको बारेमा बताउँदै ठट्टा गरिरहेका बेला उनी ढलेका थिए। उनी स्टेजमा गएको एक मिनेटमै ढलेका थिए। आबुधाबीमा जन्मेका मञ्जुनाथका बाबुआमाको भने उनी सानै छँदा निधन भएको थियो। उनको यस्तो अनौठो निधनले विश्वभरी नै चर्चा पाएको थियो।

चिनियाँ पूर्वप्रधानमन्त्री पेङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली पेङको ९० वर्षको उमेरमा श्रावण २२ मा निधन भयो। चीनका अन्य शीर्ष पदहरूमा रहेर सन् १९८० र १९९० को दशकमा उनले काम गरेका थिए। पेङ सन् १९८९ मा नेपाल भ्रमणमा आएका थिए। सन् १९८९ मा बेइजिङमा प्रजातन्त्र पक्षधरहरू माथि भएको दमनमा मुख्य भूमिका खेलेको पात्रको रुपमा उनी चर्चित रहेका थिए।

चर्चित साहित्यकार मोरिसनको मृत्यु

विश्व चर्चित साहित्यकार तथा साहित्य विधामा नोबेल पुरस्कार विजेता टोनी मोरिसनको पनि यसैवर्ष श्रावण २० गते निधन भयो। ८८ वर्षमा निधन भएकी मोरिसनलाई अमेरिकामा अल्पसंख्यक समुदाय, अफ्रिकी अमेरिकीको पक्षमा बोल्ने र लेख्ने सशक्त व्यक्ति मानिन्छ। मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला पनि हुन्। उनले ११ वटा उपन्यास तथा बालबालिकाका निम्ति धेरै किताब र निबन्ध लेखेकी छिन्। उनका उपन्यासहरू ‘द न्यूयोर्क टाइम्स’ अखबारको सबभन्दा धेरै बिक्ने सूचीमा धेरै पटक परेका छन्। उनले सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको हातबाट ‘प्रेजिडेन्सियल मेडल अफ फ्रिडम’ पाएकी थिइन्। उनको बिहे पाँच वर्षकै उमेरमा भएको बताइन्छ।

भारतले गुमायो प्रभावशाली नेतृ स्वराज

भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुष्मा स्वराजको श्रावण २१ गते निधन भयो। स्वराजलाई भारतमा प्रभावशाली र सशक्त नेतृका रुपमा स्मरण गरिन्छ। सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोकसभा चुनावमा उम्मेदवारी दिएकी थिइनन्। सन् २०१४ को २६ मे देखि पाँच वर्षसम्म उनी भारतको विदेश मन्त्री रहेकी थिइन्।

भारतीय नेता अरुण जेटलीको निधन

लामो समयदेखि बिरामी परेका भारतका भूतपूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टीका नेता अरुण जेटलीको पनि विसं २०७६ मा निधन भयो। दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएका जेट्लीको भदौ ७ गते निधन भयो। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र ६६ वर्षीय जेट्ली सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत थिए। जेटलीले भारत स्वतन्त्र भएपछि पहिलो पटक ल्याइएको वस्तु तथा सेवा कर लागू गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। जेटली अर्थमन्त्री भएकै बेला प्रधानमन्त्री मोदीले ५०० र १,००० दरका भारतीय रुपैयाँका नोट वित्तीय प्रणालीबाट हटाउने निर्णय गरेका थिए।

३७ वर्ष शासन गरेका मुगाबेको मृत्यु

जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा भदौ २० गते विदेशमा रहँदा निधन भयो। उनले जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री हँुदै राष्ट्रपति भएर ३७ वर्ष एकछत्र शासन चलाएका थिए। उनलाई सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेर नजरबन्दमा राखेको थियो। नजरबन्दमै रहेका बेला विरामी भएपछि सिङ्गापुरमा उपचारको क्रममा उनको निधन भएको थियो। उनका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले उनलाई ‘जिम्बाव्वे स्थापना गर्ने पिता’ तथा ‘मुक्तिका प्रतीक’ को संज्ञा दिएका थिए।

जापानका सुधारवादी पूर्वप्रधानमन्त्रीको बिदाई

जापानका लोकप्रिय नेताको छवि बनाएका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा मंसिर १३ गते निधन भयो। सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएको र आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाएकोमा उनको उच्च प्रशंसा गर्ने गरिन्छ। उनले सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गरेका थिए। आर्थिक नीतिहरु बजार उदारीकरणतर्फ केन्द्रित गरेर उनले नै जापानको समृद्धिको आधार तयार पारेका थिए।

सुलेमानीको हत्या

अमेरिकी एयरस्ट्राइकमा इरानी सेनाका प्रमुख जनरल कासीम सुलेमानीको मृत्यु भयो। उनको हत्यापछि अमेरिका र इरानबीचको लामो समयदेखिको दुस्मनीलाई युद्धको स्वरुप दियो। अमेरिकाले यसअघि विभिन्न समयमा दिँदै आएको चेतावनी, परमाणु रोक्ने अफरदेखि धम्कीसम्मलाई परमाणु शक्ति सम्पन्न इरानले सँधै बेवास्ता गर्दै आएकोमा सैन्य जनरल नै मारिएपछि उसले बदला लिने चेतावनी दियो।
इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए। उनले सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा काम गर्थे। उनले इरानी सेनाको अन्तर्राष्ट्रिय फोर्सको नेतृत्व गरेका थिए।

जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरू दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेका थिए।

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो। जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको संघर्षमा विशेष भूमिका खेलेका थिए। उनले सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा लडेका थिए।

गायक जोन पाइनको निधन

लोकप्रिय अमेरिकी लोक गायक जोन पाइनको कोरोना संक्रमणका कारण ७३ वर्षको उमेरमा निधन भयो। उनले दुई पटक ग्रामी अवार्ड प्राप्त गरिसकेका छन्। साथै उनले थुप्रै चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु पनि जितेका छन्। उनी शब्द रचना र स्वरका कारण अंग्रेजी गीतहरुका लागि प्रख्यात छन्।

स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भयो। ८६ वर्षीया टेरेसा स्पेनको बोउरबोन राजकीय परिवारकी सदस्य हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मृतक युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्।

निर्भया काण्डका दोषीलाई फाँसी

भारतको दिल्लीस्थित तिहाड जेलमा चैत ७ गते निर्भयाको बलात्कार र हत्या गर्ने चार जनालाई फाँसी दिइयो। मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय कुमार सिंहलाई बिहान साढे ५ बजे फाँसी दिइएको थियो।

साहित्यकार मदनमणी दीक्षितको निधन

साहित्यकार मदनमणी दीक्षितको श्रावण ३० गते ९७ वर्षको उमेरमा निधन भयो। बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सन्ताका रूपमा गैरीधारा, काठमाडौंमा उनी जन्मिएका थिए। उनको पहिलो रचनाका रूपमा विसं २०१९ मा रूपरेखामा ‘कसले जित्यो कसले हार्यो’ शीर्षकको कथा प्रकाशित भएको थियो। लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे। विसं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो। उनी लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट सम्मानित भएका थिए।

प्रकाशित: Apr 13, 2020| 13:36 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।