बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

वर्ष २०७६ : सिक्वेलले टिकाएको बक्स अफिस

यस वर्ष रिलिज भएका केही फिल्म अघिल्ला सफल फिल्मको फेरो समातेर आए। कतिले राम्रै गरे कति फिल्मलाई लगानी उठाउनै सकस भयो।
 |  सोमबार, वैशाख १, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

काठमाडौं- हास्यव्यंग्य क्षेत्रका सदाबहार अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित ‘दाल भात तरकारी’ २०७६ को पहिलो सम्झनालायक फिल्म हो। यसका निर्माता किरण केसी हुन्।

triton college

वैशाख २० गते रिलिज भएको यो फिल्मले उत्साहजनक व्यापार गर्न सकेन। तर थुप्रै फिल्मको रिलिज मिति भने पछाडि धकेल्न सफल भयो।
त्यसो त जुनसुकै नेपाली फिल्मको रिलिजको तिथि मिलाउन बलिउड फिल्मको तिथिमिति हेर्नुपर्ने अवस्था छँदै छ।

अघिल्लो वर्ष रिलिज भएको मदनकृष्ण र हरिवंशको ‘शत्रु गते’ फिल्मले झन्डै १२ करोड रुपैयाँको व्यापार गरेको थियो। यस हिसाबले यो जोडी फिल्म क्षेत्रमा सफल हो।

१३ वैशाखमा रिलिज हुने भनिएको मदनकृष्ण र हरिवंशकै ‘दाल भात तरकारी’ बलिउड र हलिउड केही फिल्मका कारण एक साताका लागि पछाडि सर्यो।

यसबाट के स्पष्ट भएको छ भने नेपाली फिल्म चल्न ‘स्टोरी’, ‘क्यारेक्टर’ वा ‘मेकिङ’ मात्रै राम्रो भएर हुँदैन लगन पनि जुर्नुपर्ने रहेछ। बलिउडका सुपर स्टार प्रभास र श्रद्धा कपुरको ‘साहो’, टाइगर स्राफ र ऋतिक रोसनको ‘वार’, ‘ स्टुडेन्ट अफ दी एयर २’ जस्ता फिल्म नेपाली फिल्मका लागि केही बाधक बने।

Metro Mart
vianet

महजोडीको फिल्मकै कारण उनीहरुका चेला प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘जात्रै जात्रा’ पूर्वनिर्धारित वैशाख २७ मा रिलज हुन नसकेपछि जेठ ३ गतेलाई सर्यो।

सिक्वेलको भर

यस वर्ष रिलिज भएका केही फिल्म अघिल्ला सफल फिल्मको फेरो समातेर आए। कतिले राम्रै गरे कति फिल्मलाई लगानी उठाउनै सकस भयो।
प्रदीप भट्टराईको ‘जात्रै जात्रा’ फिल्म ‘जात्रा’ को सिक्वेलका रुपमा आयो। यो फिल्म भने अपेक्षित व्यापार गर्न सफल भयो।

विपिन कार्की, रवीन्द्रसिंह बानिया, दयाहाङ राईजस्ता स्थापित कलाकारसमेत रहेको फिल्म सबै हिसाबले मन पराइयो।

‘ए मेरो हजुर’ को सिक्वेलका रुपमा आएको ‘ए मेरो हजुर ३’ सफल बन्यो। झरना थापाले निर्माण गरेको उक्त फिल्ममा अनमोल केसी, सुहाना थापालगायतको अभिनय रहेको छ।

रामबाबु गुरुङको ‘कबड्डी’ फिल्मको सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि राम्रो छाप छोड्न सफल भयो। यसमा दयाहाङ राई, कर्मा, बुद्धि तामाङ, विल्सनविक्रम राई, बिजय बरालजस्ता चर्चित कलाकारको अभिनय थियो।

सिक्वेलकै रुपमा आएका कतिपय फिल्म भने सम्झनलायक रहेनन्। मिलन चाम्सको ‘वीरविक्रम २’ लगायत फिल्म सामान्य प्रभाव र व्यापारमा सीमित भए।

दसैंतिहारजस्ता चाडपर्वको छेको पारेर रिलिज भएको अशोक शर्माको ‘रातो टीका निधारमा’ दीपक–दीपाको ‘छ माया छपक्कै’ को छायामा पर्यो।

नेपाली फिल्म उद्योगमा कुनै समय एकछत्र राज गरेका विराज भट्टको ‘साङ्लो’ दर्शकले रुचाएनन्। पूर्वमिस नेपाल नितिका चण्डकको अभिनय रहेको यो फिल्म कात्तिक १५ मा प्रदर्शनमा आएर केही हप्ता पनि हलमा टिक्न सकेन।

त्यसपछि सम्झिनलायक फिल्म बन्यो ‘आमा’। दीपेन्द्र के खनालको लेखन, निर्देशन र छायांकनमा तयार भएको यो फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मालगायत कलाकारको अभिनय थियो। फिल्मले राम्रो कमाइ गर्न नसके पनि छाप भने बलियो छोड्यो।

२०७५ सालको प्रसाद, बुलबुल जस्ता फिल्मलाई याद गराउने गरी ‘आमा’ फिल्मले सामाजिक प्रभाव छोड्न सकेको फिल्म समीक्षकहरु बताउँछन्।

विपिन कार्की अभिनित ‘सेल्फी किङ’ फरक स्वादमा आएको फिल्म यसै वर्ष रिलिज भयो। एउटा चर्चित पात्रको भित्री पाटो बोल्ने यो फिल्मलाई दर्शकले भने त्यति रुचाएनन्।

फिल्महरु स्टारडम, लगानी वा सिक्वेलले मात्रै चल्दैनन् भन्ने कुरा यस वर्ष रिलिज भएका दाल भात तरकारी, रातो टीका निधारमा, वीरविक्रम २, साङ्लो आदिले पुष्टि गरिदिए।

घट्दो आम्दानी

नेपाली फिल्मले कति कमाई गर्यो? त्यो ठ्याक्कै थाहा पाउने निर्माताले मात्रै हो। २०७५ वैशाख १० गते बक्स अफिस लागू भएपछि केही हदसम्म फिल्मको कमाइ सबैले थाहा पाउन सकिने भएको छ । तर यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ।

कुनै पनि फिल्म निर्माताले घाटामा गएँ भन्दैनन्। निर्माता, वितरक र हल सञ्चालकले यस्तो कुरा गोप्य राखेर फिल्म सफल भएको दाबी गर्ने प्रवृत्ति छ।

तर विभिन्न तथ्यांक, निर्माताको दाबी र वितरकको भनाइअनुसार यो वर्ष सबै भन्दा धेरै कमाइ गर्न सफल भएको फिल्म रामबाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’ हो। यो फिल्मले झण्डै ११ करोड रुपैयाँको व्यापार गरेको छ।

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ ले ९ करोडभन्दा बढीको व्यापार गरेको बक्स अफिसले जनाएको छ। यो कमाइ उनीहरुका अघिल्ला फिल्मको भन्दा कम हो।

दीपक दीपाको ‘छक्का पञ्जा ३’ ले झन्डै १८ करोड कमाएको थियो भने ‘छक्का पञ्जा’ ले १६ करोड र ‘छक्का पञ्जा २’ ले १४ करोडको व्यापार गरेको निर्माण पक्षको दाबी छ।

यस्तै ‘ए मेरो हजुर ३’ पनि राम्रो कमाई गर्न सफल भयो। उक्त फिल्म झण्डै ९ करोडको व्यापार गर्न सफल भयो।

बक्स अफिसले दिएको तथ्यांकअनुसार जात्रै जात्रा फिल्मले पनि झन्डै ७ करोड ३० लाख बराबरको व्यापार गरेको छ।

अर्को फिल्म आमाले २ करोड ५० लाख जतिको व्यापार गरेको छ। जोकर फिल्मले झन्डै २ करोडको मात्रै व्यापार गर्न सक्यो।
यीबाहेक यो वर्ष थुप्रै फिल्म आए। कतिले लगानी उठाए कतिले सकेनन्।

चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका कलाकारद्वय सिताराम कट्टेल धुर्मस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ फिल्मले पनि कमाई ठिकै गरेको वितरकहरु बताउँछन्।

फिल्मले राम्रो छाप छोड्न नसके पनि फिल्मबाट उठेको केही रकम रंगशालालाई जाने भएपछि यो फिल्म हेर्न दर्शकहरुले कन्जुस्याईँ गरेनन्।

अधिकांश फिल्मको वितरणको जिम्मा लिँदै आएका निर्माता गोविन्दशाहीले यस वर्ष फिल्महरुले राम्रो व्यापार गर्न नसकेको बताए। उनी भन्छन्, ‘अघिल्ला वर्षमा एउटै फिल्मले १५ देखि १८ करोडसम्मको व्यापार गरेका थिए। यस वर्ष १०–११ करोडसम्मको व्यापार गर्न फिल्मलाई धौधौ भयो।’

वर्षको अन्तिम दुई महिना कोरोना भाइरसको महामारीका कारण फिल्म चल्न सकेनन्। चैत ६ गतेदेखि त सरकारले हल नै बन्द गरिदियो। कोरोना भाइरसको महामारीको छाया त्यसअघि नै देखिइसकेको थियो।

७ गते शुक्रबार रिलिज हुन ठिक्क परेका फिल्म रिलिज हुन नपाउँदा कतिपय निर्माता चर्को ब्याजमा निकालेको पैसा तिर्न नसकेर टाट पल्टिने अवस्थामा पुगेको निर्माता शाही बताउँछन्।

कतिपय निर्माताले छायांकनका लागि ठिक्क पारेको सेट फुकाल्नुपरेको छ। यी कारणले २०७६ को अन्त्यतिर आइपुग्दा फिल्म क्षेत्रलाई तितो अनुभूति भएको छ।

चलचित्रमा लगानी बढ्दै गएको छ। यो वर्ष पनि लगानी बढ्ने क्रम रोकिएन। खुद नाफा र नोक्सानको कुरा गर्दा कतिपय फिल्म निर्माताहरु टाट पल्टिए पनि कतिपयले घरघडेरी जोड्नसमेत सफल भएका छन्।

फिल्म पत्रकार नेमिष गौतम भन्छन्, ‘समग्रमा हेर्दा घाटाको व्यापार भएको त छैन। तर दर्शकले राम्रो नेपाली फिल्मको खोजी गर्न थालेका छन्। यो वर्ष नयाँ स्वाद खोज्नेका लागि उत्साहजनक बन्न नसकेकै हो।’

चर्चामा कलाकार

दयाहाङ राई ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ दुवै फिल्ममा जमे। दीपकराज गिरी ‘छ माया छपक्कै’ बाट राम्रै चर्चामा रहे। यसै पनि चर्चित रहेका विपिन कार्की ‘सेल्फी किङ’ फिल्म राम्रोसँग चल्न नसके पनि आफूचाहिँ चले। आमा फिल्मबाट सुरक्षा पन्तले स्याबासी पाइन्। यो वर्ष नयाँ पात्र भने जम्न सकेनन्। 

नायिकाको घरजम

यो वर्ष पाँच नायिकाको बिहे भयो। कबड्डीका सबैजसो सिक्वेलमा जमेकी नायिका रिश्मा गुरुङले पोखराका प्रेमीसँग लगनगाँठो कसिन्। प्रियंका कार्कीले नायकसमेत रहेका प्रेमी आयुश्मान देशराजसँग बिहे गरिन् भने ऋचा शर्मा, आँचल शर्मा र दीपिका प्रसाईले घरबार जोडे।

प्रकाशित: Apr 13, 2020| 11:35 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्