२०७६ साल हामीबाट बिदा भएको छ। यो वर्ष नेपालले विज्ञानको क्षेत्रमा पनि केही उपलब्धि हासिल गरेको छ। यो वर्ष विज्ञान र वैज्ञानिक क्षेत्रमा के कस्ता कामहरु भए त ?
पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण
यो वर्षको मुख्य उपलब्धि नेपालले पहिलो पटक आफ्नै उपग्रह ‘नेपाली स्याट–१’ पायो। नेपालले आफैं प्रक्षेपण गर्न नपाए पनि स्याटले नेपालका लागि काम गर्नेछ। वैज्ञानिकका अनुसार यसले पृथ्वीको सतहको फोटो खिचेर पठाउने काम गर्छ।
‘नेपाली स्याट–१’ वैशाख ३ गते अमेरिकाबाट ‘लन्च’ भएको थियो। नास्टको भनाइमा नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा प्रक्षेपण भयो।
नेपालसँगै श्रीलंकाको ‘रावना–१’ र जापानको ‘उगिसु’ भू–उपग्रह पनि प्रक्षेपण गरिएको थियो। अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण गरियो।
नेपालको त्यो सेटेलाइटलाई नानो सेटेलाइट भनिन्छ। जसको अर्थ ‘सानो आकार’ भन्ने हुन्छ। यसको आयतन एक हजार घन सेन्टिमिटर छ भने तौल एक किलो पाँच ग्राम रहेको छ।
साग समापनमा ड्रोनको कलाकारिता
१३ औं साग नेपालमा भव्य रुपमा सफल भयो। त्यसमा पनि प्रविधिको प्रयोग भएको थियो। जसमा ड्रोनको कलाकृति निकै चर्चामा रह्यो। ड्रोनबाट नेपालको नक्सा, कृष्णसारको नक्सा, झन्डा, मन्दिर, बुद्धचित्र लगायतका थुप्रै प्रयोग गरेर देखाइएको थियो।।
त्यसबेला १५० ड्रोन प्रयोग गरिएका थिए।
तारा र ग्रहको नेपाली न्वारान
तारा र ग्रहको न्वारान पहिलोपटक नेपालीमा गरिएको छ। आकाशीय पिण्डको नेपाली नाम राखिएको यो नै पहिलोपटक हो।
राष्ट्रिय खगोलशास्त्र समाज(नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार भोटका आधारमा ताराको नाम ‘सगरमाथा’ र ग्रहको नाम ‘लालिगुराँस’ राखिएको थियो।
ती तारा र ग्रह पृथ्वीबाट एक सय ७२ प्रकाश वर्ष टाढा छन्। हामीलाई थाहै छ, प्रतिसेकेन्ड तीन लाख किलोमिटर दगुर्ने प्रकाशले एक वर्षमा पार गर्ने दूरी भनेको एक प्रकाश वर्ष हो।
फ्रान्सको राजधानी पेरिसमा आयोजित एक कार्यक्रममा इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले ती तारा र ग्रहको नाम सगरमाथा र लालिगुराँस राखेको थियो। नेपाली नामाकरण हुनुअघि तारा र ग्रहको नाम ‘एचडी १००७७७’ र ‘एचडी १००७७७बी’ थियो।
ओलम्पियाडमा पहिलो काश्य
विज्ञान क्षेत्रमा दख्खल राख्ने विद्यार्थीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ‘ओलम्पियाड’। यो वर्षको ओलम्पियाडमा नेपालले जुनियरमा काश्य पदक प्राप्त गर्यो। जुनियर सेक्टरको प्रतियोगितामा नेपाल यही वर्षबाट मात्र भाग लिन थालेको हो। सहभागी भएको पहिलो वर्षमै नेपाल काश्य पदक पाउन सफल भयो।
सिनियर प्रतियोगितामा नेपालले २०१४ बाटै प्रतिस्पर्धा गर्न थालेको थियो। नासोका अध्यक्ष सुरेश भट्टराई भन्छन्, ‘सिनियर क्षेत्रको प्रतिस्पर्धामा नेपालले सुरुका वर्षबाटै प्रतियोगितामा भाग लिइरहेको छ। त्यस्तै प्रतियोगितामा ‘अनरेबल मेडल र स्पेसल अवार्ड’बाट सम्मानित हुँदै आएको छ।’
त्यस्तै निजी क्षेत्रबाट सञ्चालन भइरहेको नासोले ‘विज्ञानमा महिला’ भन्ने अवार्ड पनि प्रदान गर्दै आइरहेको अध्यक्ष भट्टराई बताउँछन्।
‘युरिज नाइट’
अप्रिल १२ मा नेपालले सन् २००८ बाट ‘युरिज नाइट’ भन्ने विषेश दिन मनाइरहेको छ। पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ। सन् १९६१ अप्रिल १२ मा युरी गागरिन पहिलो पटक अन्तरिक्षमा गएका थिए।
नास्टको ‘अर्ली वार्निङ सिस्टम’
‘अर्ली वार्निङ सिस्टम’ नेपाल विज्ञान तथा प्रविधि संस्थान (नास्ट)ले जडान गरेको नयाँ विधि हो। यसले भूकम्पबारे सूचना दिन्छ। नेपालमा पहिले यस्ता सिस्टम ६० वटा थिए। हाल प्रदेश १ र २ मा गरेर २० वटा थप गरिएको छ। यो सिस्टमलाई देशैभरि सञ्चालन गरिने नास्टका वरिष्ठ टेक्नोलोजिस्ट सुरेश ढुंगेल बताउँछन्।
यसबाहेक नास्टले आफूले गर्दैै आएको माटो,पानी,ल्यान्डफिल लगायतका टेस्टहरु पनि गरिरहेको छ। टेस्ट र वैज्ञानिक कामका लागि ललितपुरस्थित आफ्नै क्षेत्रमा नास्टले भवन पनि बनाइरहेको छ। २०० जना वैज्ञानिक सँगै काम गर्नसक्ने सुविधासम्पन्न भवन नास्टले तयार गरिरहेको छ।
अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नास्टले गएको कात्तिकमा अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्यो। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको सो सम्मेलन तीन दिन चलेको थियो। का१िक ४, ५ र ६ गते सम्पन्न सम्मेलनमा विभिन्न राष्ट्रका ४ सय युवा वैज्ञानिक सहभागी भएका थिए।
सेनिटाइजर बनाउने बिधि
कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको अवस्थामा नेपालमा पनि असर नपरिरहन सकेन। जसको सावधानीका लागि केही हप्ताअघि नेपालमा सेनिटाइजर बनाउन थालिएको थियो।
ललितपुर महानगरसँग सहकार्य गरेर नास्टले सेनिटाइजर बनाउने विधि सिकाएपछि नेपालमा उत्पादन हुन थालेको हो। त्यसअघि नेपालका धेरै मेडिकलहरुमा सेनिटाइजर अभाव भएको थियो। तर अहिले त्यस्तो अवस्था नरहेको नास्टले बताएको छ।
माइक्रोबायोलोजी आन्दोलन
माइक्रोबायोलोजी पढ्ने विद्यार्थीले यो वर्ष फेरि एकपटक आन्दोलन गरे। उनीहरुले गएको भदौमा आन्दोलन गरेका थिए। २०६८ सालपछि साम्य माइक्रोबायोलोजी आन्दोलन संजिव धिताल माइक्रोबायोलोजी संघर्ष समितिको अध्यक्षमा आएपछि पुनः ब्युँतियो।
समितिले आफूहरुलाई लाइसेन्स दिन विभेद गरेको भन्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद्विरुद्ध आक्रोश पोखेको थियो। २०६८ सालमा पनि विद्यार्थीले लाइसेन्स पाउन आन्दोलन नै गरेका थिए। त्यसबेला पाएको लाइसेन्सको हालसम्म नवीकरण भएको छैन।