काठमाडाैं- संवत् २०७६ मा साना पार्टीमा पनि बहु अध्यक्षको प्रथा सुरु भएको छ। यसअघि सत्तासीन नेकपामा दुई अध्यक्ष रहे पनि २०७६ देखि समाजवादी पार्टीमा २ र राष्ट्रिय प्रजातन्त्र पार्टीमा तीन अध्यक्ष बनेका छन्।
पुराना पञ्च भनिएर चिनिएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच फागुनमा एकीकरण भएपछि कमल थापा, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा अध्यक्ष बनेका छन्।
पटकपटक फुट्दै र जुट्दै आएको राप्रपा एकीकरण सभामा कमल थापाले गीताको पुस्तक समातेर अब पार्टी कहिल्यै नफुटाउने गरेको बाचा निकै रोचक थियो।
हिन्दु राष्ट्र बनाउने नीतिअनुसार दुई राप्रपा मिलेको बताइएको छ। एकीकरणमा पूर्वप्रधानमन्त्री एवम् राप्रपाका संस्थापक सूर्यबहादुर थापा समर्थक भने सामेल भएनन्।
बाबुरामको अभियान समाजवादीमा विलय

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच वैशाख तेस्रो साता एकीकरण भयो। एकीकरणपछि गठित पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ।
पार्टीमा पार्टीको कार्यकारी अध्यक्षमा यादव र संघीय परिषद् अध्यक्षमा उपेन्द्र यादव छन्। पार्टी एकीकरणपछि नेताहरुलाई पार्र्टी नयाँ परिवर्तनकारी शक्ति र कांग्रेस र कम्युनिस्टको विकल्पका रुपमा उभिने दाबी गरेका थिए।
यो एकतासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियान सकिएको थियो।