जनकपुरधाम– धनुषाबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित खोलाबाट दुईजनालाई बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका–४ बस्ने २६ वर्षीय सरोजकुमार महतो र सोही ठाउँका ४४ वर्षीय राजकुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पुष्पलपुर खोलामा ज १२ प १११५ नम्बरको मोटरसाइकल चढेर दक्षिणबाट उत्तरतर्फ गइरहेको अवस्थामा गस्तीमा खटेका प्रहरीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
चेकजाँचको क्रममा उनीहरुको साथबाट बारुद लोड भएको एकथान भरुवा बन्दुक फेला परेको उनले जनाए ।
पक्राउ परेका दुबैजनाविरुद्ध हातहतियार खरखाजाना मुद्दा दर्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।