जनकपुरधाम– बन्दाबन्दी (लकडाउन) कार्यान्वयन गराउन ड्युटीमा खटिएका एक प्रहरी हबल्दारमाथि जनकपुरमा आक्रमण भएको छ।
लकडाउनमा घरभित्रै बस्न सम्झाइबुझाई गरिरहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–८, रामजानकी आँखा अस्पताल नजिक प्रहरी हबल्दार लालबाबु साहमाथि आक्रमण भएको हो।
लकडाउनमा घरभित्रै बस्न र सडकमा भीडभाड नगर्न भन्दै सम्झाइबुझाई गरिरहेको अवस्थामा उनीमाथि जनकपुरधाम–८ बस्ने २८ वर्षीय अमितकुमार सिंह र २३ वर्षीय सुमितकुमार सिंहले आक्रमण गरेका हुन्। सिंहद्वय दाइभाइ हुन्।
हबल्दार साहले सडकमा हिँडडुल नगर्न सम्झाइरहेको अवस्थामा सिंहद्वयले उनीमाथि ढुंगाले टाउकोमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।
आक्रमणमा परी घाइते हबल्दार साहको प्रादेशिक अस्पताल, जनकपुरमा उपचार भइरहेको छ। उनकाे टाउकोमा ६ वटा टाँका लगाइएको कार्कीले बताए।