काठमाडौं– कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा देशभर साढे ६ हजार भन्दा बढीको थ्रोट स्वाब नमुना परीक्षण गरिएको छ।
सातै प्रदेशमा आइतबार दिउँसोसम्म ६ हजार पाँच सय १० जनाको नमुना परीक्षण गरिएको अस्पतालले जनाएका छन्। तीमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा नमुना परीक्षण गरिएको छ।
थ्रोट स्वाबको नमुना रियल टाइम पिसिआर मेसिनबाट परीक्षण गरिन्छ।
प्रदेश १ मा १६८ को परीक्षण, सबै नेगेटिभ
प्रदेश १ मा १६८ को स्वाब नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ।
प्रदेश १ मा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण भइरहेको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरका अनुसार गत प्रदेश चैत १६ बाट कोरोनाको परीक्षण सुरु भएको हो।
उनका अनुसार आज कोरोनाको परीक्षण भएको छैन। यद्यपि, एक जनाको स्वाब संकलन भएको उनले जानकारी दिए।
यस्तै, प्रदेश १ मा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पनि परीक्षण भइरहेको छ। तर, अस्पतालले परीक्षणको तथ्यांक सार्वजनिक गरेको छैन।
यसबारे जानकारी लिन अस्पतालकी कार्यवाहक निरीक्षक डा. संगीता मिश्र र प्रदेश १ को सामाजिक विकास मन्त्रालयका डा. सुरेश मेहेतालाई फोनमार्फत सम्पर्क गर्न खोज्दा दुवैको फोन उठेन।
प्रदेश २ मा पनि देखिएन संक्रमण
प्रदेश २ मा एक सय ३५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस्तै, दुई सय २५ जनाको नतिजा आउन बाँकी रहेको बताइएको छ।
यहाँ पछिल्लो दुई दिनमा ६५ जनाको र्यापिड डाइनोस्टिक टेस्ट गरिएको छ। सप्तरीमा ४, सिरहामा ३ र पर्सामा ५८ जनाको र्यापिड टेस्ट गरिएको हो। ती सबैको रिपोर्ट पनि नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
बाग्मती प्रदेश सबैभन्दा बढी ५६११ को परीक्षण
बाग्मती प्रदेशमा देशभर सबैभन्दा बढी पाँच हजार ६ सय ११को स्वाब नमुना परीक्षण गरिएको छ। जसमध्ये काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण संख्या पाँच हजार एक सय ८४ छ।
त्यस्तै, धुलिखेल अस्पतालमा दुई सय २५ नमुना परीक्षण गरिएको छ। सबै नमुनाको नतिजा नेगेटिभ रहेको अस्पतालका कोभिड १९ का फोकल पर्सन डा. सुमन ताम्राकारले जानकारी दिए।
चितवनको भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा ९४ जनाको परीक्षण गरिएको र ३० जनाको परीक्षण जारी रहेको प्रयोगशालाका प्रवक्ता कृष्णसागर शर्माले बताए। चितवनमा अहिलेसम्म कुनै पनि नमुनाको नतिजा पोजेटिभ देखिएको छैन।
हेटौंडाको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा हालसम्म १ सय ८ नमुना परीक्षण गरिएको छ। जसमा ३ जनामा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएपछि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको स्वास्थ्य महाशाखाका प्रमुख पुरुषोत्तम सेढाईले जानकारी दिए।
ती तीनै जनाकाे टेकुमा पुन: परीक्षण गर्दा संक्रमण पाइएको छ।
गण्डकीमा ३०२ को परीक्षण, भेटिएनन् संक्रमित
गण्डकी प्रदेशमा कोरोना संक्रमणको आशंकामा तीन सय दुई जनाको थ्रोट स्वाबको नमुना परीक्षण गरिएको छ। तीमध्ये कसैलाई पनि कोरोना संक्रमण नदेखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ।
त्यहाँ सात सय ४९ जनाको र्यापिड टेस्ट गरिएको छ। उक्त टेस्टको नतिजा पनि नेगेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेश ५ मा ६९ को रिपोर्ट नेगेटिभ, ८ को आउन बाँकी
प्रदेश ५ मा आइतबार दिउँसो १ बजेसम्म ७७ वटा नमुना संकलन गरिएको छ। तीमध्ये ६९ को रिपोर्ट नेगेटिभ देखिएको र ८ को रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।
कर्णालीमा सबै रिपोर्ट नेगेटिभ
कर्णाली प्रदेशमा एक सय २९ जनाको नमुना परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ देखिएको छ।
त्यहाँ एक सय तीन पुरुष र २६ महिलाको कोरोना परीक्षण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए।
यस्तै, कर्णालीमा कोरोना भाइरस रोग संक्रमणको आशंकामा झन्डै चार सय जनाको र्यापिड टेस्ट गरिएको छ।
हुम्ला, सल्यान र सुर्खेतमा करिब चार सयको र्यापिड टेस्ट गरिएको र सबैको नतिजा
सुदूरपश्चिममा ९६ को परीक्षण, भेटिएनन् संक्रमित
सुदूरपश्चिममा कोरोना भाइरस रोग संक्रमणको आशंकामा ९६ जनाको परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये कुनैमा पनि संक्रमण नदेखिएको सेती प्रादेशिक अस्पताल आकस्मिक विभागका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए।
सुदूरपश्चिममा उपचाररत चार संक्रमितको भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो। उनीहरूको अवस्था सुधारोन्मुख रहेको डा. जोशीको भनाइ छ।