दाङ- लकडाउनका कारण भोकभोकै बस्न बाध्य अति विपन्न ५० परिवारलाई अमेरिकामा बस्दै आएका दाङका केही परिवारले खाद्यान्न सहयोग गरेका छन्।
हाल अमेरिकामा रहेका तुलसीपुर–१६ लालपुरका रेग्मी परिवारले खाद्यान्न सहयोग गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्न वितरणका लागि बनाएको फुड बैंकमा शर्मिला रेग्मी, सन्तोष रेग्मी र अवनिश रेग्मी तथा हाल तुलसीपुर ५ नीवासी पत्रकार चेतन रेग्मीले आज शनिबार एक कार्यक्रमका बीच तुल्सीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई खाद्यान्न समाग्री हस्तान्तरण गरे।
रिपोर्टस क्लब दाङको सहकार्यमा उपलब्ध खाद्यान्न सामग्री क्लबका अध्यक्ष शरद रेग्मी र सहयोगी पत्रकार चेतन रेग्मीले संयूत्त रुपमा नगर प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका थिए।
स्थानीय प्रशासनले एकद्वार प्रणालीबाट खाद्यान बितरण गर्ने योजाना बनाएपछि नगरपालीकाभित्र रहेका अतिविपन्न पचास घर परिवारलाई बाह्र सय पचास किलो चामल, एक सय किलो दाल र पचास किलो नुन सहयोग गरिएको हो।
‘खाद्यान्न अभावमा कोही पनि भोकै बस्न नपरोस् भनेर हामी आँफैले पैसा उठाएर सहयोग गरेका हौँ’ अमेरिकामा रहेकी शर्मिला रेग्मीले भनिन्।
‘यहाँ हामी पनि घरभित्रै बसिरहेका छौँ। आपतकालीन समयमा सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ।’ उनले भनिन्।