काठमाडौं— हृदयाघातबाट मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) रिदेश बिष्टको शव लिन श्री एयरलायन्सको जहाज शनिबार बिहान सुडानतर्फ उडेको छ।
संयुक्त राष्ट्रसंघको सुडान मिसनमा खटिएका बिष्टको चैत १७ गते हृदयाघातका कारण मृत्यु भएको थियो।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार कोरोना भाइरसको महामारीले विभिन्न मुलुकमा लकडाउन भएका कारण चार्टर उडानको अनुमति लिन झन्डै दुई साता ढिलाइ भएको हो।
भारत, पाकिस्तान, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी विमान सेवा कम्पनी श्रीको विमान चार्टर गरेर पठाएको हो। चार्टर उडानको खर्च संयुक्त राष्ट्र संघले बेहोर्नेछ। विमान आइतबार दिउँसो काठमाडौं आइपुग्नेछ।