कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भाइरस संक्रमणको सय दिन पूरा हुँदा मृतकको संख्या १ लाख २ हजार ६ सय ७ पुगेको छ ।
त्यसैगरी कुल संक्रमितको संख्या १६ लाख ८१ हजार ९ सय ६४ छ।
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार ५ सय ८६ पुगेको छ।
समाचार संस्था एएफपीका अनुसार त्यहाँ ४ लाख ९६ हजार ५ सय ३५ जना कोरोनाबाट संक्रमित छन्। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ३५ हजार संक्रमित थपिएका छन्।
उता, कोरोनाबाट सबैभन्दा बढी मृत्यु भोगेको इटालीमा मृतककको संख्या १८ हजार ८ सय ४९ छ ।
फ्रान्समा कोरोनाबाट मर्नेको संख्या १३ हजार नाघेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा नै १ हजारको मृत्यु भयो।
भारतमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ। शनिबार बिहानसम्ममा त्यहाँ संक्रमितको संख्या ६ हजार ७ सय ६१ पुगेको छ भने २०६ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका ३ लाख ७४ हजार ५ सय जना निको भएको बाल्टिमोर इन्स्टिच्युटलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
हिजो (शुक्रबार) मात्रै विश्व स्वास्थ्य संगठनले नोवल कोरोना भाइरसको पहिलो संक्रमण पुसष्ट भएको एक सय दिन पूरा भएको जनाएको थियो ।
३१ डिसेम्बर २०१९ मा चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा निमोनियाको थुप्रै ‘केस’ देखिएको थियो।
चीनबाट यो भाइरस क्रमशः अन्य मुलुकमा पनि फैलिन थाल्यो। अहिले विश्वका केही देशमात्र यसबाट मुक्त छन्।
सय दिन बित्दा पनि यसको न कुनै भ्याक्सिन तयार भएको छ न औषधि नै ।
के–के भयो सय दिनमा ?
३१ डिसेम्बर २०१९– चीनद्वारा डब्लुएचओलाई वुहानमा अज्ञात संक्रमणको जानकारी
११ जनवरी २०२०– चीनमा कोरोनाबाट पहिलो मृत्यु
३ जनवरी २०२९– कोरोना भाइरस चीनबाट थाइल्याण्ड पुग्यो
२३ जनवरी २०२०– कोरोनाको उद्गम सहर वुहान लकडाउन
३० जनवरी २०२०– डब्लुएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा, भारतमा पहिलो संक्रमण पुष्टि
७ फेब्रुअरी २०२०– कोरोना भाइरसको बारेमा चेतावनी दिने चिनियाँ डाक्टरको यही भाइरसका कारण मृत्यु
२२ फेब्रुअरी २०२०– इटालीमा कोरोनाबाट पहिलो मृत्यु
११ मार्च २०२०– डब्लुएचओद्वारा कोरोना भाइरसलाई महामारी घोषणा
२७ मार्च २०२०– बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण
८ अप्रिल २०२०– वुहान सहरमा लकडाउन खुल्यो
बीबीसी