जनकपुरधाम– नेपाली कांग्रेसका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सबै हेल्थ पोस्ट र स्वास्थ्य चौकीहरुमा पीपीई, मास्कलगायतका सामग्री वितरण गरेका छन् ।
प्रदेश २ को सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेशसभा सांसद सिंहले २२ वटा हेल्थ पोस्ट र स्वास्थ्य चौकीमा पीपीई, मास्क, पञ्जालगायतका सामग्रीहरु वितरण गरेका हुन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक हेल्थ पोस्ट र स्वास्थ्य चौकीहरुमा २–२ थान पीपीई, १००–१०० था पञ्जा, सेनिटाइजर, सर्जिक मास्कलगायतका सामग्रीहरु वितरण गरेका छन् ।
विश्वभर कोरोना महामारीको रुप लिइरहेको अवस्थामा निर्वाचन क्षेत्रको स्वास्थ्य चौकीहरुमा अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिन सहयोग गरेको प्रदेश सांसद सिंहले बताए ।
निर्वाचन क्षेत्रको बरहथवा, हजरिया, बसबरिया, रामवनलगायतका स्थानमा रहेको हेल्थ पोस्ट र स्वास्थ्य चौकीहरुमा कोरोना संक्रमणको जोखिमबाट जोगिन सानो सहयोग गरेको उनले बताए ।
कोरोनाको संक्रमणबाट आमजनतालाई सुरक्षित राख्न र स्थानीय तहहरुमा अत्यावश्यक सामग्रीको अभाव देखिएको भन्दै सांसद सिंहले निजी खर्चमा पीपीईलगायतका सामग्रीहरु सहयोग गरेका हुन् ।