शनिबार, असार ७, २०८२

गायक डा. सुमन थापासँगको पलेँटी श्रृंखला युट्युबमा

नेपालयले संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग सार्वजनिक गरेको छ।
 |  शुक्रबार, चैत २८, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

vianetvianet

काठमाडौं – नेपालयले संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग सार्वजनिक गरेको छ। सो कार्यक्रमको लाइभ रेकर्डिङ ४ भागमा सम्पादन गरी हरेक हप्ता धारावाहिक रुपमा पलेँटीको च्यानल http://www.youtube.com/paleti मा उपलब्ध हुने भएको छ। त्यसैले अबका केही साता पलेँटीको च्यानलमा डा. सुमन थापाका नयाँ गीतसँगै क्रमशः उनको सांगीतिक र पेशागत अनुभव सुन्न, हेर्न सकिने नेपालयले जानकारी दिएको छ।

डा. सुमन पेशाले नेत्र विशेषज्ञ हुन्। नेपालयले गत अक्टोबरमा डा. सुमन थापाको पेसा र ‘प्यासन’लाई ध्यानमा राखेर पलेँटी डिजाइन गरेको थियो। यस शृंखलामा डा. सुमनले गाएका धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन्। प्रायः गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ। सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन्। शृंखलाको आरम्भमा सुमनकै संगीतका दुई गीत पनि समेटिएका छन्। जसमा गीतकार रत्न शमशेर थापाको रचना रहेको छ।

‘गीत गाएर पलेँटीको मञ्चमा आइपुग्छु भन्ने कुरा त मैले सोचेकै थिइन। त्यसमा पनि एकैसाथ यतिधेरै नेपाली गीत गाउँछु भन्ने त झन् सोचेकै थिइन। तर, पलेँटीले गर्दा श्रवणजी र आभासजीसँग रचनात्मक संगत गर्न पाएँ। यो क्षण मेरो सांगीतिक जीवनकै महत्वपूर्ण मोड हो। त्यो मोडको मजा युट्युबमार्फत् आम प्रशंसक माझ बाड्न पाउँदा एकदमै खुसी लागेको छ।’, डा. सुमनले भने।

प्राय पश्चिमी शैलीमा अंग्रेजी गीत गाउन रुचाउने डा. सुमन, पलेँटीमा भने नेपाली गीत लिएर उपस्थित छन्। प्रायजसो सामुन्ने रहेको आँखा जाच्ने यन्त्र ‘स्लिट ल्याम्प’मा तिलगंगा र क्लिनिकमा देखिने डा. सुमन पलेँटीको भिडियोमा भने आफ्नो मनपर्ने बाजा गितारका साथ देखिने छन्।

‘डा. सुमन थापासँगको पलेँटी सफल र प्रयोगात्मक कार्यक्रम थियो जसमा स्थापित गीतकार श्रवण मुकारुङ र संगीतकार आभासले प्रायः अंग्रेजी भाषामा गीत गाइरहेका सौखिन गायकसँग सहकार्य गरेका थिए। भविष्यका पलेँटीमा पनि यसखाले सिर्जनात्मक सहकार्यको प्रयोगलाई निरन्तरता दिने सोचमा छौं।’, आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले भने।

डा. सुमनसंगको पलेँटीलाई ‘पलेँटी नेपालय’ नामको युट्युबको लिंक https://youtu.be/n6dbe-Z_vBw मा गएर हेर्न र सुन्न सकिन्छ।

प्रकाशित: Apr 10, 2020| 15:25 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्