भैरहवा– कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणका लागि सरकारले प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्ने भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला स्थापनासहित आवश्यक विज्ञ जनशक्तिसमेत तोकेको छ।
यसैअन्तर्गत प्रदेश ५ मा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञका रूपमा जिम्मेवारी तोकेको छ। सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला निर्माणका लागि तयारी गरेको छ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य विभाग प्रमुख डा. उमाशंकर चौधरीले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको भवनमा आवश्यक काम सुरु भइसकेको जानकारी दिए। उनले भने, “प्रयोगशालाका लागि आवश्यक सरसफाइ, टायल बिछ्याइ र रङरोगनको काम भइरहेको छ। मेसिन आउनासाथ जडानको काम सुरु गर्छाैं।”
यो अन्य प्रयोगशालाको उपकरण जस्तो नभई रियल टायम, पिसिआर र किट मेशिनलगायत उपकरण जडान गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याउन सकिने प्रमुख चौधरीले जानकारी दिए।
प्रयोगशाला सञ्चालनका लागि हाल तोकिएका तीन विज्ञ जनशक्तिबाटै काम सुरु गरिने र संक्रमणका बिरामीको चापअनुसार आवश्यक जनशक्ति व्यवस्थापन हुने जानकारी उनले दिए।
चीनबाट प्राप्त उपकरणको सहायतामा सातै प्रदेशबाट परीक्षण सुरु गर्ने तयारी सरकारले थालेको हो।
रासस