एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) संक्रमण राेकथाम गर्न बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले सरकारलाई ५१ करोड भारतीय रूपैयाँ सहयोग गर्ने बताएको छ।
बीसीसीआईले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ, “आपतकालिन अवस्थामा प्रधानमन्त्री मोदीजीको जनता एसिस्टेन्स एन्ड रिलिफ फन्डमा बीसीसीआईले ५१ करोड योगदान गर्ने भएको छ।”
उसले देशको विपत्ति व्यवस्थापनलाई राम्रो र गुणस्तरीय बनाउन र भाइरसको रिसर्चमा प्रेरणा दिन यस्तो व्यवस्था गरेको बताएको छ।
सचिनको सहयोग
भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वब्याट्सम्यान सचिन तेन्दुलकरले कोरोना भाइरस रोकथामका लागि ५० लाख सहयोग गरेका छन्। उनले प्रधानमन्त्री रिलिफ फन्ड र मुख्यमन्त्री रिलिफ फन्डमा २५/२५ लाखका दरले सहयोग गरका हुन्।
सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै उनले कोरोनाविरुद्ध लड्न सबैलाई आह्वान पनि गरेका छन्। उनले रोगबाट संक्रमितलाई हेला नगर्न पनि अनुरोध गरेका छन्।
उनले भनेका छन्, “हामी समाजमा बस्ने मानिसको एक जिम्मेवारी हुन्छ की हामी रोग ग्रसित मानिसलाई माया र स्नेह प्रदान गरौं। सामाजिक दुरी बनाऔं । तर, समाजबाट नअलग्याऔं।”
रैनाको ५२ लाख सहयोग गर्ने घाेषणा
बायाँ हाते ब्याट्सम्यान सुरेश रैनालले पनि कोरोना रोकथामका लागि ५२ लाख भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्। उनले ३१ लाख प्रधानमन्त्री रिलिफ फन्ड र २१ लाख उत्तरप्रदेशको मुख्यमन्त्री रिलिफ फन्डमा जम्मा गर्ने बताएका हुन्।
कोरोना भाइरसविरुद्ध लड्न सहयोग गरेको सामाजिक सञ्जाल ट्विटरमा बताएका छन्।
रहाणेको पनि
क्रिकेटर एवम् भारतीय टेस्ट टिमका उपकप्तान अन्जिका रहाणेले कोरोनाविरुद्ध लड्नका लागि १० लाख भारतीय रूपैयाँ सहयोग गरेका छन्। उनले आइतबार महाराष्ट्र मुख्यमन्त्री कोषमा १० लाखको सहयोग गरेका हुन्।
भारतको कोरोनाको कारण नौं सयभन्दा धेरै मानिस संक्रमित भएका छन् भने २५ जनाको ज्यान गइसकेको छ।