काठमाडौं- कतार एअरवेजबाट नेपाल आएकी अर्की युवतीमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया ती युवतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनी उपत्यका बाहिर रहेको बताइए पनि मन्त्रालयले विस्तृत विवरण दिएको छैन।
उनी यसअघि फ्रान्सबाट आएकी संक्रमित युवती आएकै कतार एअरवेजको उडान क्युआर ६५२ बाट नेपाल आएकी हुन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच पुगेको छ। यीमध्ये एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुई जनाको टेकु अस्पतालमा र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।