अली हसन एउटा पसलमा काम गर्थे। लकडाउनपछि पसल बन्द छ, अहिले उनलाई सिदासामलको संकट आइपरेको छ।
भारतमा कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकभर २१ दिनको लकडाउन घोषणा गरेको छ। अति आवश्यक कामबाहेक अन्य कुनै कामका लागि घर बाहिर निस्कने अनुमति छैन।
दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने वर्गका लागि २१ दिनको लकडाउनले दुर्दशा ल्याइदिएको छ।
उत्तर प्रदेशको नोएडामा एउटा चोक छ, जसलाई ज्यामी चोक भनिन्छ। सामान्यतयाः यो स्थानमा ज्यामी मजदुरहरुको जमघट हुने गर्छ। राजधानी दिल्ली नजिक रहेको यो स्थानमा निर्माण कम्पनीका ठेकेदारहरु आफूलाई आवश्यक मजदुर लिन आउँछन। तर गत आइतवार बिहानदेखि यो क्षेत्र चकमन्न छ।
सबै कुरा ठप्प। केवल हावाको ईशारामा आसपासका बोटबिरुवाका हाँगा र पातमात्रै हल्लिरहेका छन्। चराचुरुङ्गीका कलरव सुनिन्छ। अत्यधिक होहल्ला हुने स्थानमा एकाएक सन्नाटा छाउँदा जो कोही पनि विस्मित बन्छ।
चोक भन्दा अलीपर केही मानिसहरु झुम्मिएको देखियो। रोकिएर एकछिन तिनीहरुसँग कुरा गर्ने कोसिस गर्दै जनता कर्फ्युको आदेश किन उल्लंघन गरेको भनेर सोध्दा एकजनाले जवाफ दिए, ‘कोरोनाभाइरसको डर किन छैन र ? हामी पनि मान्छे हौँ, डर सबैलाई लाग्छ, मर्न को चाहन्छ र ? हामी दैनिक छ सय रुपैयाँ कमाउँछौं। त्यसैले परिवारको पेट पाल्ने हो। हुन त आज आइतबार सबै काम बन्द हुन्छन् तर भाग्यवश कोही ठेकदार आइहाले भने काम पाइन्छ। गाँस पाईन्छ। हामीसँग अब धेरै दिनका लागि रासनपानी बाँकी छैन। के गर्ने हो अब भन्ने पनि थाहा छैन।’
इलाहाबादका किशन लाल रिक्शा चलाउँछन्। विगत पाँच दिनदेखि उनको कमाइ शून्य बराबर छ। नोएडाको ज्यामी चोकका मजदुरहरुकै हालत छ भारतभरका ज्यालादारीमा काम गर्ने ज्यामी मजदुरहरुको स्थिति।
प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा लकडाउनको घोषणा गरेका थिए। यो घोषणाले दैनिक ज्यालादारी मजदुरहरुलाई अब अर्को आम्दानी गर्ने दिन पर्खिन कम्तिमा २१ दिन अरु कुर्नु पर्ने छ। यसको परीणाम स्वरुप त्यतिञ्जेलसम्म तिनका घरमा खाद्यान्न सकिने छ।
उत्तर प्रदेशदेखि केरलासम्मका दैनिक मजदुरी गर्ने ज्यामीका खातामा सिधै सरकारले दिने राहत वापतको रकम राखिदिने कुरा पनि सुनिँदैछ। प्रधानमन्त्री मोदीको सरकारले यो महामारीका कारण मजदुरहरुमा पर्न गएको असहजतालाई ध्यानमा राखी मनग्य सहयोग गरिने बचन पनि दिएको छ। तर यस्ता बाचा पूरा गर्न सरकारले विभिन्न प्राविधिक चुनौतीहरुको सामना गर्नु पर्ने हुन्छ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार भारतमा कम्तीमा ९० प्रतिशत मानिसहरु अनौपचारिक क्षेत्रमा काम गर्छन्। यिनीहरु सुरक्षा गार्ड, सफाइ कर्मचारी, रिक्शा चालक, ठेलामा सामान बेच्ने, फोहोर उठाउने तथा घरेलु मजदुर आदि हुन्।
यीमध्ये धेरैजसोको न पेन्सन पाक्छ, न बिमारी बिदा पाउँछन, न तलबी बिदा हुन्छ न त कुनै प्रकारको बिमाको सुरक्षण नै। कतिको त बैंक खाता पनि हुँदैन। यस्तो स्थितिका यी मजदुरहरुको हरेक दिनको ज्याला मजदुरी नै जीवन धान्ने एकमात्र विकल्प हुन्छ। त्यसमाथि कतिपय त भारतका विभिन्न राज्यबाट आएका मजदुरहरु छन्।
त्यसपछि समस्या आउँछ ती मजदुरहरुको जो हरेक वर्ष एक प्रान्तबाट अर्को प्रान्त कामका सिलसिलामा भौतारिरहेका हुन्छन्।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव यसलाई ठूलो चुनौती ठान्छन्। यसभन्दा पहिलेका कुनै पनि सरकारले यस प्रकारका चुनौती खेप्नु परेको थिएन। बिग्रँदो स्थितिलाई हेर्दै पूर्व मुख्यमन्त्री यादव भन्छन्, ‘सबै तहका सरकारहरुले धेरै तिब्र गतीमा आआफ्ना तह र जिम्मेवारीमा काम गर्नुपर्ने बाध्यता छ किनकी स्थिति दैनिक बदलिरहेको छ। हामीले अब तत्कालै एउटा विशाल भान्सा तयार गर्नुपर्छ जहाँ खाना बनाएर दैनिक ज्याला मजदुरी गर्नेहरुका परिवारसम्म पुर्याउनु सकियोस्। ती चाहे जुनसुकै प्रान्तका हुन्, तिनलाई आवश्यक अन्न पानी र पैसा उपलब्ध गराउनु पर्छ।’
अखिलेश यादव उत्तर प्रदेशको स्थितिप्रति चिन्तित देखिन्छन्। जनसंख्याको हिसाबले यो प्रान्त भारतको सबैभन्दा ठूलो राज्य हो। यसको जनसंख्या २३ करोडजति छ। यादव भन्छन्, ‘समुदायमा कोरोना भाइरस फैलिनबाट रोक्न मानिसहरुलाई एक शहरबाट अर्को शहरमा आवतजावतमै रोक्नुपर्छ। यदि खानपिनको व्यवस्था गरिदिने हो भने कुनै एक ठाउँमा बस्न सक्छन्। किनकी मान्छे यो स्थितीमा आआफ्ना गाउँतर्फ भ्याईनभ्याई गरी दौडिन्छन्।’
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका अनुसार एउटा टीम गठन गरिएको छ, जसले अन्य प्रान्तबाट आएका मान्छेहरुका साथै सहयोगको गुहार लगाउने जो कोहिको बारेमा तथ्यांक संकलन गर्नेछन्। भारतीय रेल सेवाले पनि आगामी ३१ मार्चसम्मका लागि आफ्ना सम्पूर्ण सेवाहरु बन्द गरेको छ। तथापि रेल सेवा बन्द हुनुभन्दा ठीक पहिले हजारौं प्रवासी मजदुरहरु दिल्ली, मुम्बई र अहमदाबाद जस्ता संक्रमण प्रभावित क्षेत्रहरुबाट उत्तर प्रदेश र बिहारका गाउँ गाउँ पुगिसकेका छन्। यसका कारण, कोरोना भाइरसको संक्रमण समुदायमा बढ्न जाने खतरा बढेको छ।’
विशेषज्ञहरुका अनुसार आगामी दुई हप्ता भारतका लागि अत्यन्तै खतरनाक साबित हुनसक्छ। तर अहिले सार्वजनिक यातायात ठप्प पारिएको हुनाले जोकोही सहजै गाउँ जान सक्ने स्थितिमा छैनन्। इलाहाबादमा रिक्शा चलाउने किशन लाल आफूले बितेको चार दिन कुनै कमाइ गर्न नपाएको बताउँछन्।
उनी भन्छन्, ‘मैले आफ्नो परिवार बचाउन पैसा कमाउनु पर्छ। तर सरकारले अब हामीलाई पैसा दिन्छ रे भन्ने सुन्दैछु। सरकारी कुरो कहिले पाइने हो, कसरी पाइने केही पत्तो छैन।’
किशन लालका मित्र अली हसन उनीभन्दा धेरै खराब स्थितिको सामना गरिरहेका छन्। हसनसँग अब त साँझ बिहानको छाक टार्न पनि पैसा छैन। हसन भन्छन्, ‘दुई दिनअघि दोकान बन्द गर्नुपर्याे। मैले कतैबाट एक रुपैयाँ पाएको छैन। अब कहिले पसल खोल्न पाइने हो, यही चिन्ता छ। मेरो एउटा परिवार छ। परिवारको लालनपालन कसरी गर्ने, छक्क परेको छु।’
भारतमा सडक किनारमा ठेलागाडामा व्यापार गरी गुजारा चलाउने मानिसको कुनै कमी छैन। दिल्लीमा लस्सी बेच्ने मुहम्मद सबीरले अब गर्मीको समय आयो, अब लस्सीको व्यापार पनि बढ्छ भन्ने सोचेर केही दिन अघिमात्रै दुई जना कामदार राखेका थिए।
सबिर भन्छन्, ‘अब म तिनलाई के दिएर काममा राख्नु। मैसँग एक पैसो छैन। मेरा परिवारका सदस्यहरु खेतिपाती गर्छन्। यसपालिको खेती तुषारोले सखाप पार्याे। मेरै भर परेर बसेका थिए घरका अरु सदस्य पनि। अब म आफैं असहाय छु। कसरी अरुलाई सहयोग पुर्याउँला र ? अब कोरोना भाइरसले भन्दा अघि नै भोकमरीले मार्ला जस्तो छ।’
भारतमा कोरोना भाइरसका कारण सम्पूर्ण पर्यटकीय स्थल बन्द गरिएका छन्। जसले गर्दा यस क्षेत्रसँग जोडिएका लाखौंंको जीविकामा एक्कासी काठनाइ आइपरेको छ। राजधानी नयाँ दिल्लीस्थित इण्डिया गेट छेउछाउ पर्यटकको फोटो खिचेर जीविका चलाउने तेजपाल कश्यपले आफ्नो काममा यस्तो मन्दी आएको अहिलेसम्म देखेका थिएनन्। कश्यप भन्छन्, ‘दुई हप्तादेखि काम लगभग ठप्प छ। अहिले घर जान पनि सकिँदैन। यहीँ बसे पनि के गरेर बस्नु। साह्रै गाह्रो स्थिति भयो।’
‘दिल्ली जस्तो शहरमा पनि ट्याक्सी चलाएर आफ्नो जीवन धान्न गाह्रो हुन थाल्यो,’ दिल्लीमा एक एयरलायन्स कम्पनीका लागि ट्याक्सी चलाउने जोगिन्दर चौधरी भन्छन्, ‘हामीजस्ता ट्याक्सी मजदुरलाई सरकारले सहुलियत दिनुपर्छ। लकडाउन के हो म बुझ्छु। कोरोना भाइरस एक खतरनाक बिमारी हो। हामीले यसबाट बच्ने हरेक उपायलाई अनुसरण गर्नुपर्छ। तर यो लकडाउन हप्तौंसम्म जारी रह्यो भने जहान बालबच्चा कसरी पाल्नु ?’
तेजपाल कश्यप जस्ता व्यक्तिका लागि आफ्नो पेशा बचाउन निकै धौधौ परेको छ। भारतमा अझै पनि यस्ता मान्छे छन् जसलाई कोरोना भाइरसबारे केही जानकारी पनि छैन। कैयौं वर्षदेखि इलाहाबाद स्टेशनमा जुत्ता मर्मत गर्ने एक चर्मकार नाम नबताउने शर्तमा यसरी आफ्ना कुरा बेलिबिस्तार लगाउँछन्, ‘हिजोआज शहरमा किन किन मान्छे कम हुँदै गएका छन्। कर्फ्यु लाग्या छ भन्छन्, तर किन लाग्या हो थाहा छैन।’
यही ठाउँँमा मिनरल वाटर बेच्ने विनोद प्रजापति छन्। केही बेर चुप लागेर आफ्ना पीडा यसरी पोखे, ‘मलाई कोरोना भाइरसबारे सबै थाहा छ। यो ज्यादै भयावह हुन्छ। सारा विश्व अहिले यसैको चपेटामा परेको छ। जजसको घर छ, ती सबै घरैभित्र बसेका छन्। हामी जस्ता मान्छेसँग दुइटै विकल्प छः पहिलो सुरक्षा दोस्रो भोक। अब तपाईं आफैँ भन्नुस्– हामी केलाई छान्नु भोक कि सुरक्षा ?’
विकास पांडे (बीबीसी)
अनुवादः मातृका पौडेल