धनगढी– धनगढी उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएको छ।
शुक्रबार धनगढी उपमहानगरपालिकाका आफै औषधी छर्किन निस्किएका थिए। उपमहानगरपालिकाले शुक्रवार वडा नं २ का एसटिएस सिनेमा हल अगाडि, पुरानो सब्जीमन्डी, धनगढी राष्ट्र बैंकदेखि सहिदगेट, होटल डिभोटी चोकदेखि पीपलचौतारा–मटियारी, गाउँ धनगढी क्षेत्रको सडकमा औषधी छर्किएको नगरप्रमुख वडले बताए।
उपमहानगरपालिकाकाले बिहीबार धनगढी चौराहादेखि मनहेराको पेट्रोल पम्प र हसनपुर राष्ट्र बैंक चोकदेखि धनगढी उपमहानगरपालिकाको गेटसम्म औषधी छर्किएको थियाे।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्भव भएसम्म नगरका सबै क्षेत्रमा औषधी छर्किने बताए। शनिबारदेखि वडाबाट औषधी स्प्रे मेसिनको प्रयोग गरेर सबै गल्लीहरूका औषधी छर्किने नगरप्रमुख वडले बताए।
“धनगढी उपमहानगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको छ,” नगरप्रमुख वडले भने, “संवेदनशील अवस्थामा सबैको समन्वय आवश्यक छ।”
नगरप्रमुख वडले नगरवासीले लकडाउनको पालना गरेर सेल्फ क्वान्टाइनमा बसेमा मात्रै पनि आफूहरूलाई ठूलो सहयोग हुने बताए। उनले भने, “सबैले सरकारले गरेको लकडाउनको पालना गरिदिनहुन अनुरोध गर्दछौं।”