इटहरी– प्रदेश–१ मा भारतीय भूमिबाट आएका २७७ जना क्वारेन्टाइनमा छन्। २५० पुरुष र २७ जना महिला क्वारेन्टाइनमा बसेका हुन्। नेपाली सेनासँगको सहकार्यमा मोरङ र झापाका क्वारेन्टाइनमा उनीहरु बसिरहेको प्रदेश १ सरकारले जानकारी दिएको छ।
यस्तै प्रदेश १ मा ९ जना आइसोलेसन वार्डमा छन् । कोशी अञ्चल अस्पताल र धरानको विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा ९ जना उपचाररत रहेको प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक छ। उच्च ज्वरोको लक्षण देखिएका ६ पुरुष र ३ महिला आइसोलेसनमा भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले बनाएको विपत व्यवस्थापन युवा समुह परिचालन कार्यक्रमका संयोगक रवी खनालका अनुसार प्रदेश सरकार हरेक दिन क्वारेन्टाइन र आइसोलेसनको अपडेट गरिरहेको छ।
यता, कोरोना परीक्षणको काम विपी कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठानमै हुने भनिएपनि अहिलेसम्म हुन सकेको छैन। अबको दुई दिनभित्र परिक्षण सुरु हुने वातावरण बन्ने प्रदेश सरकारले जानकारी दिएको छ। अहिले प्रदेश १ सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सर्व पक्षीय बैठक भइरहेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुबेदीले जानकारी दिए। प्रदेश सरकारले यस अगाडिको बैठकबाट १० करोड रुपैयाँ राखेर कोरोना जनसुरक्षा कोष सुरु गरेको छ।