काठमाडौं– लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिङको लागि ‘फिबर क्लिनक’ स्थापनाको पहल पनि सुरू गरेको जानकारी दिएको छ।
क्लिनिक स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्ब्ध गराउने र हेल्थ एट होम प्रा.लि.ले कार्यान्वयन गर्ने जनाइएको छ।
क्लिनिकमा संक्रमणको लक्षण देखिएका मात्रै नभएर भर्खरै विदेशबाट आएका, कोरोना संक्रमितको सम्पर्कमा आएकालगायत व्यक्तिको परीक्षण गरिनेछ।
त्यस्तै मनोपरामर्श पनि दिइने लक्ष्मी ग्रुपले जनाएको छ। क्लिनिकको सेवाले अस्पतालमा भीडभाड कम गर्ने र आपतकालीन बिरामीलाई सहज हुने ग्रुपले विश्वास लिएको छ।
लक्ष्मी ग्रुपले २०७२ को भूकम्पमा नेपाल रेड क्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, श्री चन्द्रोदय आधारभूमि विद्यालय गोरखाको पुनर्निर्माण, बिन्ध्यावासिनी मन्दिर पोखराको लिफ्ट निर्माणलगायत काम गरेको थियो।