काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सामाजिक सञ्जालमा सक्रिय भएका छन्। कोरोना भाइरसको महामारीबाट सचेत रहन भन्दै पूर्वराजा शाहले सामाजिक सञ्जालबाट विभिन्न सुझावहरु दिएका छन्।
पूर्वराजा साहको अफिसियल ट्वीटरमा बुधबार लेखिएको छ, ‘जात, धर्म, स्वतन्त्रताभन्दा पनि मानवताको मूल्य सधैं उच्च हुन्छ। संकटको घडीमा राज्यले सबैभन्दा पहिले नागरिकको सुरक्षालाई प्राथमिकता दिनैपर्छ। सबै मिलेर कोरोना विरुद्धको लडाइँ लड्नु परेको छ। नागरिक र राज्य एक भएर अघि बढेमा सफलता निश्चित छ । एकतामा बल हुन्छ।’
शाहले मंगलबार सीमा नाकामा रहेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिनुपर्ने बताएका थिए।
‘आम नेपाली नागरिक देशभित्र सुरक्षित रहनु आवश्यक छ। नेपाल बाहिरबाट घर आउन चाहने नेपालीले देश प्रवेश गर्न पाउनु पर्छ। नागरिकप्रति सरकार अनुदार बन्न सक्दैन। आवश्यक चेकजाँच र उपयुक्त आइसोलेशनको सुविधा दिनु सरकारको दायित्व हो। आपतका बेला परिवारजनबाट अगल नगर्नु नै उत्तम हुनेछ।’ उनले लेखेका छन्।
कोरोनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै पूर्वराजा शाहले लेखेका छन्, ‘आम नेपाली नागरिकले अहिले आफ्नो मात्र नभै पूरा देशको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्नु जरुरी भएको छ। सकेसम्म सामाजिक दूरीलाई पूर्ण पालना गरी सुरक्षित रहन आग्रह गर्दछौं। सरकारले आफ्ना नागरिकको पूर्ण सुरक्षा र दैनिक उपभोग्य सामग्रीको सहजीकरण तर्फ ध्यान दिनेछ भन्ने आशा छ।’