काठमाडौं - नेपालमा कोरोना भाइरसबाट संक्रमित तीनैजना विदेशबाट फर्किएको पाइएको छ। पहिलो पटक संक्रमण देखिएका युवक गत फेब्रुअरीमा चीनको वुहानबाट फर्किएका थिए।
वुहान कोरोना संक्रमणको केन्द्र हो। यद्यपि त्यहाँ अहिले कोरोना संक्रमण नियन्त्रणमा आएको छ भने जनजीवन सामान्यतर्फ उन्मुख भइसकेको छ ।
वुहानबाट फर्किएका ती युवक उपचारपछि निको भइसकेका छन्।
दोस्रो संक्रमित पनि गत चैत ४ गते फ्रान्सबाट फर्किएकी युवती हुन् । उनी कतार एयरवेजको विमानबाट काठमाडौं आएकी थिइन्।
फ्रान्समा अध्ययनरत १९ वर्षीया युवतीलाई केही दिनअघि संक्रमण भएको पुष्टि भएको थियो । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।
उनको परिवारका सदस्यलाई पनि आइसोलेसनमा राखिएको बताइए पनि परिवार र ती युवतीको सबै विवरण खुलाइएको छैन ।
आज संक्रमित भेटिएका व्यक्ति पनि खाडी मुलुकबाट फर्किएका थिए। स्वास्थ्य मन्त्रालयले ती व्यक्ति वैदेशिक रोजगारीमा गएका हुन् वा अन्य प्रयोजनमा विदेशमा थिए भन्ने केही जानकारी दिएको छैन।
साथै उनी कहिले र कुन विमानमा यात्रा गरी नेपाल आएका थिए भन्ने पनि केही खुलाइएको छैन। उनकाे पनि टेकुस्थित शुक्रराज अस्पतालमा उपचार भइरहेकाे छ।