काठमाडौं– नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। यससँगै नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिएको पुष्टि गरेका छन्।
प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग राखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।
यसअघि दुई जनामा संक्रमण पुष्टि भएकोमा एक उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् भने एक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ६ सय ४७ जनाको कोरोना भाइरस परीक्षण गरिएकोमा ६ सय ४४ को रिपोर्ट नेगेटिभ देखिएको छ।