बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् कोरोना संक्रमित चर्चित व्यक्ति, क-कसले गुमाए ज्यान ?

यी हुन् कोरोना संक्रमित चर्चित व्यक्ति, क-कसले गुमाए ज्यान ?

विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट विश्व चर्चित पात्रहरु पनि धमाधम संक्रमित हुन थालेका छन् ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडाैं- विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट विश्व चर्चित पात्रहरु पनि धमाधम संक्रमित हुन थालेका छन् ।

विभिन्न देशका मन्त्री, प्रधानमन्त्री पत्नीदेखि खेलाडी, कलाकार लगायत व्यक्तिहरुमा संक्रमण पुष्टि भएको छ । केहि व्यक्तिको कोरोनाबाट मृत्यु समेत भएको छ ।

कोरोना संक्रमित चर्चित व्यक्तिहरु

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिज

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिज कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । कोरोनाको पुष्ट भइसकेपछि उनी आफ्नै घरमा क्वारेन्टाइनमा बसेको बिबिसीले जनाएको छ ।

उच्च पदस्थ व्यक्तिमा समेत संक्रमण देखिएपछि संक्रमित सङ्ख्या बढ्ने भएकाले बेलायतले कोरोनाको परीक्षण गर्ने सङ्ख्या पनि बढाएको छ।

अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोन

अष्ट्रेलियाका गृहमन्त्री पिटर डुटोन कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । बिहान उठ्दा ज्वरो आएको र घाँटी दुखेको अनुभव गरेपछि उनले क्वीन्सल्याण्डको अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

कोरोना भाइरस संक्रमणको परीक्षणमा ‘पोजेटिभ’ रिपोर्ट आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले विज्ञप्ति जारी गर्दै आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन् ।

इरानकी उपराष्ट्रपति संक्रमित, सांसदको मृत्यु

इरानकी उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन् । राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

अहिले उनलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । इरानमा यही कारण एक जना सांसदको मृत्युसमेत भइसकेको छ । ५५ वर्षीय इरानी सांसद फतेमेह रहबरको कोरोनाका कारण मृत्यु भएको हो ।

क्यानडाका प्रधानमन्त्रीकी श्रीमती ग्रेगोइर संक्रमित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफि ग्रेगोइरलाई कोरोनाभाइरसको संक्रमण भएको छ । जस्टिन ट्रुडोले श्रीमतीमा फ्लु जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए ।

क्यानडा सरकारले दिएको जानकारी अनुसार गे्रगोइर ट्रुडोलाई ब्रिटेनमा भएको एक कार्यक्रमबाट फर्किएपछि रुघा खोकी र ज्वरोको लक्षण देखिएको थियो । पछि कोरोनाको परीक्षण गर्दा पुष्टि भएको हो । 

स्पेनका प्रधानमन्त्रीकी श्रीमती बेगोना गोमेज

स्पेनका प्रधानमन्त्री पेन्द्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

प्रधानमन्त्री पत्नीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि स्पेनले कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

स्पेनकी मन्त्री आइरेने मोन्तेरो

स्पेनकी समानता मन्त्री आइरेने मोन्तेरो कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । उनमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पतीसँगै क्वारेन्टाइनमा राखिएको छ । हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।

हलिउड स्टार जोडी : टम ह्यांक्स र रीता विल्सन

दुईपटक उत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड जितेका हलिउडका चर्चित अभिनेता टम ह्यांक्स पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्यांक्ससहित उनकी श्रीमती अभिनेत्री रीता विल्सनमा पनि कोरोनाको संक्रमण देखापरेको छ । कोरोना भाइरसबाट संक्रमित हुने पहिलो हलिउड जोडी अहिले घरमा ‘क्वारेन्टाइन’मा बसेका छन् ।

आर्सनलका मुख्य प्रशिक्षक मिकेल

आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो । आर्सनलले पछिल्लो समय क्लबका अन्य सदस्यलाई पनि कडा निगरानीमा राखेको छ ।

इटालियन क्लब युभेन्टसका खेलाडी पाउलो डिबाला

इटालियन क्लब युभेन्टसका चर्चित खेलाडी पाउलो डिबालालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

कोरोनाको संक्रमण भएको बारे डिबालाले आफै जानकारी गराएका हुन् । उनले आफूसँगै प्रेमिका ओरियाना सबातिनीलाई पनि संक्रमण भएको बताएका हुन् । अहिले उनी प्रेमिकासहित क्वारेनटाइनमा छन् ।

बलिउड गयिका कनिका कपूर

बलिउड गयिका कनिका कपूरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो खबरले दिल्लीमा खलबली मच्चिएको छ। कोरोना संक्रमण भएका केही मन्त्री, अफिसर आफै क्वारेनटाइनमा छन्।

कनिका कपूर लण्डन गएकी थिइन्। उनी त्यहाबाट भारत फर्केपछि १० दिनसम्म पार्टी गरिरहिन् । उनको पार्टीमा राज्यका सांसद, विधायक, मन्त्रीहरु जस्ता हाइ प्रोफाइलहरु सहाभागी थिए । उनीहरुलाई पनि संक्रमण भएको आशंका छ।

क–कसले गुमाए ज्यान ?

रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु

कोरोनाभाइरसका कारण स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । उनको कोरोनाभाइरसका कारण अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु भएको बारे उनका छोरा लोरेन्जोले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । कोरोनाको लक्षण देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष रहेका उनको अस्पतालमै मृत्यु भयो ।

स्पेनका प्रशिक्षकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट स्पेनका २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको मृत्यु भएको छ । उनी स्पेनिस लीगको दोस्रो डिविजन युवा टीम एटलेटिको पोर्ताडा अल्टाका प्रशिक्षक थिए। उनको एक साता अघि मृत्यु भएको हो ।

चिनियाँ डाक्टरको मृत्यु

कोरोना भाइरसका बारेमा सबैभन्दा पहिले सन्देश जारी गर्ने चिनियाँ डाक्टर ली वेनलियाङको कोरोनाकै कारण मृत्यु भयो ।

३४ वर्षीय उनको वुहानको एक अस्पतालमा आपतकालीन उपचारलगत्तै मृत्यु भएको थियो । डा. वेनलियाङले पहिलोपटक कोरोनाको विषयमा सामाजिक सञ्जालमा लेख्दा दुष्प्रचार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

उनले चेतावनी दिएको एक महिनापछि नै कोरोनाले भयावह रुप लियो । उनलाई जनवरीमा अस्पतालमा उपचारका क्रममा विरामीबाट कोरोना सरको थियो । संक्रमित भएको केहि दिनमै उनको मृत्यु भयो ।

 

प्रकाशित: Mar 23, 2020| 05:05 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।