काठमाडौं– गत माघमा चीनबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखियो। ती व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्।
त्यसयता नेपालमा कसैलाई पनि कोरोना संक्रमण पुष्टि भएको छैन। कोरोना संक्रमण पुष्टि भएका विश्वका एक सय ९२ देश तथा टेरिटोरी (क्षेत्र)मध्ये नेपाल यस्तो देश हो, जहाँ अहिलेसम्म शत प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म पाँच सय ४६ व्यक्तिको कोरोना संक्रमण परीक्षण गरिएको छ। तीमध्ये पाँच सय ४५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।
वर्ल्डओमिटरडटइन्फोले विश्वका कोरोना संक्रमित देश तथा टेरिटोरी (क्षेत्र)मध्ये नेपाललाई मात्र हरियो जोनमा (संक्रमण पुष्टि भएको तर संक्रमित नभएको) राखेको छ।
विश्वभर सोमबार बिहानसम्म तीन लाख ३७ हजार पाँच सय ७० जनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये १४ हजार ६ सय ५५ जनाको ज्यान गएको छ भने ९८ हजार आठ सय ८४ उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्।
गत डिसेम्बरमा चीनको वुहान सहरमा देखिएको कोरोना भाइरस संक्रमण फैलिएको हो।