बिहीबार, भदौ ४, २०८३

कुना पसे नेता, घरमै बसे जनता

अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सरकारले नागरिकहरुलाई आग्रह गरेको छ। सडकमा सवारीसाधन पातलिएका छन् भने मानिसहरुको चहलपहल पनि कम भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट नेपाल पनि मुक्त छैन। चिकित्सकहरुले सजग रहन आग्रह गरेका छन् भने सरकारले पनि सुरक्षाका उपायहरु अपनाउन भनिरहेको छ।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सरकारले नागरिकहरुलाई आग्रह गरेको छ। सडकमा सवारीसाधन पातलिएका छन् भने मानिसहरुको चहलपहल पनि कम भएको छ।

सरकारको आग्रहअनुसार धेरै मानिसहरु अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन्। सधैंजसो भेटघाट र कार्यक्रमहरुमा व्यस्त रहने राजनीतिक दलका नेताहरु पनि अहिले निवासमा सीमित भएका छन्। भेटघाट बन्द गरेका छन् भने पार्टीका कार्यक्रम र छलफल पनि सीमित गरेका छन् ।

प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी ओली त्यसै पनि बिरामी छन्। हालैमात्र मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गराएका ओलीको भेटघाट सीमित छ। उनी सेल्फ क्वारेन्टाइनमा भने बसेका छैनन् ।

आइतबारमात्रै मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका उनी महत्वपूर्ण भेटवार्ता र छलफलमा व्यस्त नै छन् । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रधानमन्त्री आफ्नो काममा व्यस्त हुनुहुन्छ । क्वारेन्टाइनमा बस्नुभएको छैन ।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चैत ६ गतेबाट घरबाहिर निस्किएका छैनन् भने सबैखाले भेटघाट बन्द गरेका छन् । भेट्नैपर्ने व्यक्तिसँग सुरक्षाका सबै प्रबन्ध मिलाएर दूरी कायम राखी भेट्ने गरेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड सेल्फ क्वारेन्टाइनमा बसेको विषयमा उनकी छोरी गंगा दाहालले फेसबुकमै लेखेकी छिन् । अध्यक्ष प्रचण्डले अत्यावश्यक बाहेक सम्पूर्ण भेटघाट बन्द गरेको उनले जानकारी दिएकी छन्। हिजो (आइतबार) मात्रै प्रचण्डले घर कम्पाउण्डमा साइक्लिङ गरिरहेको भिडियो सार्वजनिक भएको थियो।

चैत ६ गते जन्मदिन मनाएका नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सोही दिनदेखि घरबाहिर निस्किएका छैनन् । परिवारबाहेक बाहिरका कसैसँग भेट गरेका छैनन् ।

उनले टेलिफोनबाटै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने र नेता कार्यकर्तासँग कुराकानी गर्ने गरेको बताए। ‘शीर्ष नेताहरुसँग पनि टेलिफोनमै कुरा हुन्छ । भेटघाट बन्द भएको छ,’ उनले भने। खनाल घरमा बसेर पुस्तक पढरहेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीका अधिकांश शीर्ष नेताहरु सेल्फ क्वारेन्टाइनमा छन् । उनी आफैंले पनि अति महत्वपूर्णबाहेकका भेटघाट बन्द गरेका छन् । पार्टी बैठक पनि तत्काल नबस्ने र सकेसम्म टेलिफोनबाटै कुराकानी गर्ने काम भइरहेको उनले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले पनि छलफल र भेटघाट बन्द गरेका छन्।

सधैंजसो नेता कार्यकर्ताको घुइँचो लाग्ने बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास आजभोलि सुनसान छ। केही दिनयता उनले कसैसँग पनि भेटघाट गरेका छैनन्। यसअघि उनको निवासमा बिहानैबाट नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति हुन्थ्यो।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भेटघाट बन्द गरेका छन्। उनले चैत पहिलो सातादेखि नै भेटघाट पातलो बनाएका थिए। नेता पौडेलले चैत ३ गते विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न र अत्यावश्यक काम तथा कुराकानी टेलिफोनमार्फत् गर्न आग्रह गरेका थिए।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलाले पनि सजगता अपनाउँदै भेटघाट बन्द गरेका छन्।
कांग्रेसले यसअघि फागुन २१ गते पत्रकार सम्मेलन गरेर जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गर्दै पार्टी र पार्टीसँग आवद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायत कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको जनाएको थियो।

यस्तै कांग्रेसले १४औं महाधिवेशन तयारीसँग सम्बन्धित क्रियाशील सदस्यता नवीकरण र वितरण तथा बाँकी समायोजनका काम पनि चैत ९ देखि लागु हुने गरी चैत मसान्तसम्मका लागि स्थगित गरिसकेको छ ।

राजपाका नेता महन्थ ठाकुर पनि घरबाट बाहिर निस्केका छैनन्। उनले भेटघाट पनि कम गरेको उनको सचिवालयले जनाएको छ ।

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सधैंझैं सामाजिक सञ्जालमा व्यस्त छन्। उनले ट्विटरमा आफ्नो नाम परिवर्तन गरेर ‘नियमित हात धोऔं’ राखेका छन्। उनले पनि कार्यक्रम तथा भेटघाटहरु बन्द गरेका छन्।

प्रकाशित: Mar 23, 2020| 03:50 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।