बिहीबार, भदौ ४, २०८३

बिना चेकजाँच भारतीय नाकाबाट हुलका हुल मानिस भित्रिए

सरकारले सबै सिमा नाकामा आवागमनमा कडाइ गरेकाे दाबी गरेपनि भारतीय सिमानाकाबाट बिना चेकजाँच हुलका हुल मानिसहरु नेपाल भित्रिएका छन् ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- सरकारले सबै सिमा नाकामा आवागमनमा कडाइ गरेकाे दाबी गरेपनि भारतीय सिमानाकाबाट बिना चेकजाँच हुलका हुल मानिसहरु नेपाल भित्रिएको विषयलाई आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

जोखिमपूर्ण तरिकाले नेपाल फर्किएकाहरुलाई क्वारेनटाइनमा राख्ने त परको कुरा स्वास्थ्य जाँच समेत गरिएको छैन ।

भारतमा कोरोना भाइरसको संक्रमण विस्तार भएसँगै घर फर्किने नेपालीको संख्या बढेकाले कतिपय नाकामा स्वास्थ्य जाँच त परको कुरा भीड नियन्त्रण गर्न समेत मुस्किल परेको छ । मुख्य नाकामा हेल्थडेस्क राखिए पनि साना नाकामाबाट निर्वाध रुपमा आवागमन भइराखेको आजका पत्रपत्रिकाले लेखेका छन् ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले नाकाहरुमा जोखिमपूर्ण आवागमन शीर्षकमा खबर छापेको छ ।

कान्तिपुरमा प्रकाशित समाचारअनुसार एकै दिनमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट १३ हजार मानिस नेपाल भित्रिएका छन् भने भैरहवाको सुनौली नाकाबाट दैनिक १६ देखि हजार मासिन भित्रिने गरेका छन् ।

आजको अन्नपूर्ण पोस्ट्ले नाकाबाट हूलका हूल शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले पारिबाट आउनेको लर्को, क्वारेन्टाइनमा नराख्दा जोखिमको उच्च सम्भावना शीर्षकमा खबर लेखेको छ ।

यस्तै नेपाल सरकारले चीनसँग मेडिकल सहयोग माग गरेको विषयलाई पनि नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ । अन्नपूर्णले आजदेखि ग्यास सहज हुने आयल निगमको दाबीलाई महत्वका साथ प्रकाशित गरेको छ।

आजको नयाँ पत्रिकाले भने के छ खबर परदेशीको शीर्षकमा मुख्य समाचार छापेको छ ।

भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख नेपाली छन् । परदेसिएका नेपाली उच्च शिक्षा र रोजगारीमा सक्रिय मात्र छैनन्, वर्षमा नौ खर्ब रेमिट्यान्स पठाएर जन्मभूमिको अर्थतन्त्र धानेका छन्, यो अभूतपूर्व विपत्मा तिनको अवस्था के छ ? देशले सोध्ने वेला भएको नयाँ पत्रिकाले लेखेको छ ।

विदेशमा हालसम्म चार नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । अस्ट्रेलिया र बहराइनमा एक–एक तथा संयुक्त अरब इमिरेट्स (युएई)मा दुईजनामा देखिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा संक्रमित भएका उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

बहराइनमा संक्रमितलाई त्यहाँको सरकारले आइसोलेसनमा राखेर उपचार गरेको छ । युएईमा पनि २० र २३ वर्षका दुई नेपाली युवाको उपचार भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीलाई उधृत गर्दै नयाँ पत्रिकाले लेखेको छ ।

नाकाहरूमा जोखिमपूर्ण आवागमन

कान्तिपुरमा प्रकाशित समाचारअनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा झिसमिसेमै भारतबाट फर्किने नेपाली आइसकेका थिए ।

हेल्थ डेस्कमा जाँच हुँदै थियो । केही बेरमै हुलका हुल यात्रु नाकामा आएपछि जाँच पनि अस्तव्यस्त भयो । एकैपल्ट ३ हजारभन्दा बढी यात्रु आएपछि जाँच त के भीड नियन्त्रण गर्नै हम्मे भयो ।

कञ्चनपुरको गड्डाचौकी नाकास्थित भन्सार कार्यालयको प्रांगणमा शनिबार बिहान भारतबाट आइपुगेका नेपालीको भीड । भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँ कार्यरत नेपाली एकैपल्ट घर फर्किंदा नाका अस्तव्यस्त बनेको छ ।

कामको खोजीमा भारत पसेकाहरू बिसु पर्व नजिकिँदै गर्दा घर फर्किने पुरानै चलन हो । यस पटक कोरोना (कोभिड–१९) को त्रासका कारण नेपाली कामदार चैते दसैं र बिसु पर्व अगाडि नै घर फर्किएका हुन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण देखिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीसमेत धमाधम फर्किइरहेका छन् ।

‘एकै पटक यति ठूलो भीड आउला भन्ने हामीले सोचेकै थिएनौं । त्यसअनुसारको तयारी पनि थिएन,’ हेल्थ डेस्ककी इन्चार्ज निर्मला जोशीले भनिन्, ‘एक पटक त हामीलाई सास फेर्नसमेत गाह्रो भयो ।’

उनका अनुसार शनिबार १३ हजारभन्दा बढी नेपाली कामदार भारतबाट घर फर्किएका छन् । हेल्थ डेस्कमा अत्यावश्यक सामग्री र जनशक्तिको अभावका कारण प्रभावकारी स्वास्थ्य जाँच तथा भीड व्यवस्थापन गर्न नसकिएको उनले बताइन् । यहाँ बिहान ५ देखि साँझ ८ बजेसम्म जाँच भइरहेको उनले बताइन् ।

सुनौलीमा घटेन भीड

रूपन्देहीस्थित बेलहिया–सुनौली नाकाबाट मुलुक प्रवेश गर्नेको संख्या पनि उस्तै छ । दिउँसोको समयमा यात्रुको चाप कम हुने भएपछि साँझ तथा बिहान निकै भीड लाग्छ । सुनौली नाका हुँदै प्रतिदिन १६ देखि १८ हजार नेपाली देश फर्कने गरेका छन् ।

खासगरी, रोजगारी र अध्ययनका लागि भारत गएकाहरू धमाधम फर्केका छन् । संक्रमणको जोखिम कम गर्न भारतले एक साताअघि नेपालसँगका चारवटा ठूला नाका मात्र खुला गर्ने निर्णय गरेको थियो । त्यसमध्येको एउटा नाका सुनौली हो । तर उक्त निर्णय भने कार्यान्वयन भएको छैन ।

प्रकाशित: Mar 22, 2020| 01:15 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।