काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित गर्ने निर्णय गरेको छ।
चौधौं महाधिवेशन तयारीस्वरूप गर्न लागिएको सदस्यता नवीकरण र वितरण चैत ९ गतेदेखि मसान्तसम्म स्थगित गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले ठूला भेला र सम्मेलनहरू यसअघि नै स्थगित गरिसकेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ‘सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म’ कोरोना सचेतना अभियानमा पार्टीका नेता–कार्यकर्ताको क्रियाशीलता भने रहने सतर्कतापूर्वक रहने जानकारी दिए।
यस्तै, कांग्रेसले कोरोना संक्रमणको जोखिम कम गर्न आवश्यक सहयोग गर्ने जनाएको छ। जिल्ला, क्षेत्र, गाउँ नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्न विभिन्न दल, समुदाय र स्वास्थकर्मीहरूसँग आवश्यक समन्वय, सहयोग र स्वयंसेवीको भूमिका निभाउने कांग्रेसले जनाएको छ।
यस अवधिमा कोरोना सचेतना अभियानको आवश्यकता अनुसार पार्टी केन्द्रीय कार्यालय खुला रहने शर्माले जानकारी दिए।