टीकापुर– कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ।
विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिँदा बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन्।
टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा १५ रूपैयाँमा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालक प्रकाश तिमिल्सिनाले बताए।
“दैनिक १० जनासम्म भारतीय नागरिक मास्क खरिद गर्न यहाँ आउन थालेका छन्,” उनले भने, “एक जनाले ५० वटासम्म लिएर जाने गरेका छन् ।”
उनले दैनिक तीन हजार मास्क उत्पादन गरिरहेको जानकारी दिए। “पश्चिम नेपालका अधिकांश जिल्लाबाट मास्कको अर्डर आउन थालेको छ,” तिमिल्सिनाले भने, “हामीले अन्य काम रोकेर मास्क मात्र उत्पादन थालेका छौं। तर, पनि माग पूरा गर्न सकिएको छैन।”
मास्क उत्पादनमा ४० जना महिला कामदारलाई लगाइएको उनले बताए।
उद्योगमा कार्यरत महिलाले दैनिक दुई सयसम्म मास्क उत्पादन गरिरहेको बताएका छन्। उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिकरूपमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन्। उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन्। कैलालीमा सर्जिकल मास्क अभाव छ।
व्यापारीले पनि ४० रूपैयाँ प्रतिगोटा बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ। “मास्कका लागि लम्की बजारका धेरै मेडिकल धाए, तर पाउन सकेन,” लम्कीका राधेश्याम पाण्डेले भने, “पछि कपडा पसलमा मास्क पाए। मास्क लगाउँदा धुलो धुवाँबाट बच्न भए पनि सहयोग पुग्छ।”
रासस